मकवानपुरगढीमा कोदो रोपाइँ सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २९ गते ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ४ कालीखोला क्षेत्रमा आइतबारको वर्षासँगै यो वर्षको कोदोको रोपाइँ सुरू भएको छ । स्थानीय किसानले मकै भित्र्याएसँगै कोदो रोप्न सुरु गरेका हुन् ।
गत वर्ष १० कठ्ठा जग्गामा कोदो रोपेर छ सय केजी उत्पादन गर्नुभएकी स्थानीय किसान कुमारी लामाले ४५० केजी बिक्री गर्नुभएको थियो । यो वर्ष पनि १० कठ्ठामा नै कोदो रोपिरहेको उहाँले बताउनुभयो । अर्का किसान झिल्लीप्रसाद दुलालले गत वर्ष १० कठ्ठा जग्गामा कोदो लगाएर पाँच केजी उत्पादन गर्नुभएकोमा तीन सय केजी कोदो गाउँकै अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थामा बिक्री गर्नुभएको थियो । यस वर्ष उहाँले पनि १० कठ्ठामा कोदो रोप्दै हुनुहुन्छ । यसैगरी एक बिघा १० कठ्ठा जग्गामा कोदो लगाउने योजना बनाउनुभएका किसान सुकुमबहादुर घलानले करिब आठ कठ्ठामा रोपिसकेको र बाँकी जग्गामा रोप्ने तयारी भइरहेको जानकारी दिनुभयो । स्थानीय अधिकांश किसानले मकैबाली पछि कोदो खेती गर्दै आएका छन् ।
स्थानीय किसाले आफूले उत्पादन गरेको कोदो अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाले तोकेको मूल्यमा खरिद गर्दै आइरहेको छ । सहकारी संस्थाले मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको सहयोगमा कालीखोला ब्रान्डको कोदो र पिठो प्याकेजिङ बिक्री सुरु गरिसकेको छ ।
संस्थाका अध्यक्ष दिलबहादुर योञ्जनले अहिले सहकारीमा करिब चार मेट्रिक टन कोदो मौज्दात रहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles