मदन भण्डारी विश्वविद्यालय भदौ १ देखि चित्लाङबाट सञ्चालन हुने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३२ गते ।
ललितपुरको सैंबुमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ ।
भदौ १ गतेदेखि मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी गरिएको हो ।
हाल केन्द्रीय कार्यालय ललितपुरको सैंबुबाट सञ्चालन हुँदै आएकोमा विश्वविद्यालयको अध्यापनलगायतका कार्यहरु अब चित्लाङबाट हुने विश्वविद्यालयका कन्सल्टेण्ट प्राध्यापक सञ्जयनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसारका केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा सम्पर्क कार्यालय रहने भएको छ ।
उहाँले हाल केन्द्रीय कार्यालयका सामानहरु सार्ने काम भईरहेको बताउनुभयो ।
चित्लाङमा विश्वविद्यालयका लागि कक्षा कोठालगायतका आवश्यक भौतिक संरचना निर्माण सन् २०१९ बाट सुरु गरिएको थियो ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ७६ करोड रुपियाँ बजेट विनियोजन गरी विश्वविद्यालय आयोजना कार्यान्वयनमा ल्याउन सुरु गरेको थियो ।
यसैबीच आगामी मङ्सिरदेखि अध्यापन सुरु गर्ने गरी तयारी थालिएको विश्वविद्यालयका कन्सल्टेण्ट खनालले बताउनुभयो ।
उहाँका अनुसार आगामी डिसेम्बरबाट अर्गानिक कृषि, फरेष्ट वायोमेट्रियल्स, आर्टिफिसियल इन्टेलिजेन्स र टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा स्नातकोत्तर र विद्यावारिधी उपाधिका लागि पढाई हुने छ ।
विश्वविद्यालयको आयोजना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रुपमा पार्ने नकारात्मक प्रभावसँगै प्रतिकूल प्रभावलाई संवोधन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन गरी प्रतिवेदन (ईआईए) तयार भईसकेको विश्वविद्यालयले जनाएको छ ।
चार हजार विद्यार्थीले अध्ययन गर्ने गरी नवस्थापित विश्वविद्यालय परिसरमा दुई लाख २३ हजार वर्गमिटर क्षेत्रफलमा दुई सयभन्दा बढी कोठा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ ।
विश्वविद्यालय परिसरमा शैक्षिक भवनहरु, कम्युनल भवन, ६०७ जना कर्मचारीका लागि आवास, ४० कोठाको अतिथि भवन, २५ शय्याको अस्पताल, विद्यालय र सडक निर्माण हुने छ ।
विश्वविद्यालयका आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ ।

ताजा समाचार

Related Articles