लम्पी स्किन रोगविरुद्ध ४० हजार बढी पशुलाई खोप

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १ गते ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि सुरु गरेको सप्ताहव्यापी खोप अभियानअन्तर्गत बागमती प्रदेशमा ४० हजारभन्दा बढी पशुलाई खोप लगाइएको छ ।
अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ९१ वटा स्थानीय तहमा हालसम्म ४० हजार ५५२ वटा पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
अभियान साउन २५ गतेबाट सुरु भएर साउन ३१ गते बुधबार सकिएको हो ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले स्थानीय तह र किसानबाट पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाउने समय माग भएअनुसार समय थपिएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, स्थानीय तह र किसानबाट समय थप गर्न माग भएकोले अभियानको समय दुई दिन थप गरेर शुक्रबारसम्मका लागि पु¥याइएको थियो ।
उहाँका अनुसार हालसम्ममा सबैभन्दा बढी चितवन जिल्लामा नौ हजार २५ वटा पशुमा खोप लगाइएको छ । उहाँले गाई, बाच्छाबाच्छी, साँढे, गोरु, भैँसी, पाडापाडी र राँगोलाई अभियानअन्तर्गत लम्पी स्किन रोगविरुद्धको खोप लगाउने क्रम जारी रहेको भन्दै यो अवधिमा सबैभन्दा कम २८४ वटा पशुलाई दोलखामा खोप लगाइएको बताउनुभयो ।
बागमती प्रदेशमा गाईभैँसीमा पछिल्लो समय महामारीको रुपमा फैलिएपछि मन्त्रालयले बिहीबारबाट साताव्यापी खोप अभियान सुरु गरेको हो । अभियानअन्तर्गत प्रदेशमा ५० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाउने लक्ष्य रहेको राखिएको थियो । मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म दुई लाख चार हजार ९८८ पशु यो रोगबाट प्रभावित बनेका छन् । साथै लम्पी स्किन रोगबाट सक्रिय सङ्क्रमित पशु एक लाख १० हजार ४४०, रोग लागेर मरेका छन् ।
यस प्रदेशमा लम्पी स्किन रोगका कारण पशुको बिरामी हुने दर १०.२७ प्रतिशत र मर्ने दर ३.१ प्रतिशत रहेको छ ।
यस प्रदेशमा करिब १० लाख ९९ हजार ५६० गाई र आठ लाख ९६ हजार २१३ भैँसी रहेको जनाइएको छ ।
खोप अभियानअन्तर्गत १४६ जना भ्याक्सिनेटर पशुलाई खोप लगाउने कार्यमा परिचालन गरिएको छ ।

ताजा समाचार

Related Articles