कृषि सहकारी तथा किसानसँग अन्तरक्रिया

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २ गते ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका वडा नं. ८ स्थित बुढिचौरका किसान र एकता स्वाबलम्बन कृषि सहकारी संस्थाका पदाधिकारीहरुसँग अन्तरक्रिया गरिएको छ । पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानसहितको टोलीले स्थानीय किसानले लगाएका तरकारी बालीको स्थलगत अवलोकनसँगै सहकारी संस्थाका पदाधिकारी र किसानसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका वडा न. ८ का वडाध्यक्ष कुमार सिंह घिसिङ, वडा सदस्यद्वय गोकुल देबकोटा, गमला वि.क., स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, सहकारी संस्थाका पदाधिकारी, किसानलगायतको सहभागिता रहेको थियो ।
हेटौँडाबाट करिब २५–३० किलोमिटरको दुरीमा अवस्थित बुढिचौर समुन्द्री सतहदेखि एक हजार तीन सय मिटरको उचाईमा रहेको छ । कृषि विकासको सम्भावना बोकेको यस वडाका करिब ९० प्रतिशत नागरिकले कृषि पेशालाई मुख्य पेशा बनाई जीविकोपार्जन गर्दै आएका छन् ।
अन्यत्र अधिकांश युवा रोजगारीको सिलसिलामा विदेशिने क्रम दिनानुदिन बढ्दै गईरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका वडा नं.८ बुढिचौरमा भने कृषि पेशा व्यवसायमा तुलनात्मक रुपमा युवा पुस्ताको बाहुल्यता रहेको देखिन्छ । युवाले गाउँभरि टनेल बनाएर सेताम्मे बनाएका छन् र आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन् । किसानले समयमा गुणस्तरीय कृषि सामाग्री नपाउनु, रोगकिराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या, बजारीकरणालगायतका समस्या झल्दै आएको अन्तरक्रियामा किसानले बताएका थिए ।
उता मकवानपुरगढी ८ बुढिचौरमा मुख्य रुपमा प्लाष्टिक टनेलभित्र बेमौसमी गोलभेडा खेती भईरहेका छन् । यस वडामा १५० कृषक घरधुरीले टनेल बनाई गोलभेडा खेतीका साथै काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ, ईस्कुसलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत जेठ महिनादेखि साउन महिनासम्म तीन महिनाको अवधिमा १५० मेट्रिक टन गोलभेडा र अन्य तरकारी गरी डेढ करोड रुपियाँ बराबरको तरकारी निर्यात भएको सहकारीका व्यवस्थापक गुञ्जरत्न लुङ्वाले जानकारी गराउनु भयो ।
यस्तै एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले २०७९ पुस १ गतेबाट दूध सङ्कलन शुरुवात गर्दा पहिलो दिन ६० लिटर दूध सङ्कलन भएको थियो । दूध सङ्कलन शुरुवातसँगै सहकारी संस्थाको अग्रसरता र गाउँपालिकाको सहजीकरणमा गाई÷भैंसी पाल्ने कृषकको सङ्ख्या बढ्दै गएसँगै दूध उत्पादन र सङ्कलन वृद्धि भएको छ । हाल दैनिक रुपमा बिहान बेलुका गरी एक हजार लिटर दूध सङ्कलन भईरहेको पशु सेवा प्राविधिक कर्णबहादुर बि.क.ले जानकारी दिनुभयो । दूध सङ्कलन शुरु हुनुभन्दा पहिले चार–पाँच कृषक परिवारले घरायसी प्रयोजनका लागि गाई÷भैँसीपालन गर्दै आएकोमा अहिले ६८ कृषक परिवार पशुपालनमा संलग्न रहेका छन् । जसमा ५८ वटा गाई र १७ वटा भैंसी रहेका छन् । क्रमशः पशुपालन गर्ने कृषक र पशुको सङ्ख्यामा वृद्वि भईरहेको सहकारीका सचिव अजय योञ्जनले बताउनुभयो । कृषकलाई पशुपालनले दूध उत्पादनबाट आम्दानी वृद्विसँगै खेतीको लागि गोठे÷गोबर मल पनि गाउँमै उपलब्ध भएपछि खेतीमा लाग्ने खर्चको लागतसमेत कम गर्न सहयोग पुगेको छ । सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले थप्दै भन्नुभयो हामीले खेतीको लागि अन्यत्र स्थानबाट महँगो मूल्य तिरेर गोठेमल ल्याई रहेकोमा अब ल्याउने क्रम हट्दै जान्छ ।
कृषकको मेहनत र लगनशीलताको कदर गर्दै गाउँपालिका अध्यक्ष लामाले उत्पादनमुखी योजनालाई पालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले यसवर्ष बुढीचौरको तरकारी उत्पादनलाई मध्य नजर गर्दै ईक्चुङ हुँदै र सुकौरा हुँदै हेटौँडासम्म दैनिक रुपमा सवारी साधन आवतजावत गर्न सक्ने वातावरण मिलाइएको जानकारी दिनुभयो । उहाँले अगामी दिनमा सङ्घीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी कृषिको क्षेत्रमा थप लगानी भित्र्याउने बताउनुभयो ।

ताजा समाचार

Related Articles