सार्वजनिक सवारीको भाडा बढ्यो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै प्रदेश सरकारले भाडा समायोजन गर्दै बिहीबारबाट लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीका साधन र मालवाहक सवारीका साधनको भाडा दर समायोजन गर्दै वृद्धि गरेको हो ।
प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बिहीबारबाट लागू हुने गरी उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा दर ५.३१ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाभित्र चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा दर ८.३ प्रतिशतले वृद्धि गरी समायोजन गरिएको छ ।
प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा निर्धारण÷समायोजन गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गत साउन ३१ गतेनै भएको थियो ।
पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा दर ३.४४ प्रतिशत र मालबाहक सवारी साधनको भाडादर प्रतिकिमि प्रति टन ७.७७ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौँ उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीका साधनको भाडा किमिअनुसार एक रुपियाँदेखि तीन रुपियाँसम्म वृद्धि भएको छ ।
यसअघि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेश सरकारले गत साउन ११ गते भाडा समायोजन गर्दै प्रदेशभित्र चल्ने लामो दुरीका सवारी साधन, मालबाहक सवारी साधन र उपत्यकामा चल्ने सवारी साधनको भाडा दर घटाएको थियो ।

ताजा समाचार

Related Articles