थाहामा फिल्म फेस्टिवल हुँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते । मकवानपुरको थाहा नगरमा आगामी मङ्सिर थाहा फिल्म फेस्टिवल–२०२३ हुनेभएको छ ।
पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा साताव्यापी रुपमा थाहा फिल्म फेस्टिवल–२०२३ आयोजना गर्न लागिएको हो ।
आगामी मङ्सिर ९ गतेदेखि १५ गतेसम्म हुने थाहा फिल्म फेस्टिवल–२०२३ मा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोग रहेको छ ।
थाहा फिल्म फेस्टिवल–२०२३ को बारेमा जानकारी दिन शनिबार हेटौँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीको रुपमा विकास गर्न एक हप्ते फिल्म फेस्टिवल आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
फेस्टिवल आयोजक समितिका सहसंयोजक राजीवकुमार स्याङ्तानले थाहा नगरका प्रमुख पर्यटकीय स्थलहरुको पहिचानसँगै चलचित्र, लघुचलचित्र, म्युजिक भिडियोलगायतको छायाङ्कन स्थलको विकास र प्रचार गर्न फिल्म फेस्टिवल आयोजना गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा थाहा नगरपालिका ३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझीले फेस्टिवल थाहा नगरको पर्यटन क्षेत्रको विकास सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । थाहा फिल्म फेस्टिवलमा बढीमा ३० वटा चलचित्र, लघुचलचित्रलगायत प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

ताजा समाचार

Related Articles