सामाजिक एकताको पक्षमा उभिन प्रमको आग्रह

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ९ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेको बताउनुभएको छ । केही दिनयता धरानमा भईरहेका घटनाका बारेमा शनिबार साँझ एक अपील जारी गर्दै धरानमा भइरहेको गतिविधिले हाम्रो सद्भाव र एकतामा नकारात्मक प्रभाव परेको भन्दै यो विषयमा सरकार गम्भीर रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।
साथै उहाँले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई अपील गर्नुभएको छ ।
‘‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक भएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, ‘‘विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।’’
संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेको उहाँले प्रष्ट पर्नुभएको छ । उहाँले एक अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको कुराकोसमेत स्मरण गराउनुभएको छ ।
‘‘नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ’’, प्रधानमन्त्रीले भन्नुभएको छ, ‘‘कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।’’
प्रधानमन्त्री प्रचण्डले चुनौतीको सामना संवादबाट गर्न सकिनेसमेत उल्लेख गर्नुभएको छ ।
‘‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु’’, उहाँले भन्नुभएको छ, ‘‘धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । प्रधानमन्त्री प्रचण्डले सबै धर्मले राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान गर्ने बताउनुहुँदै समस्या समाधानको सुत्रधार भएर सामाजिक खलल पुग्ने कार्यबाट टाढा रहेर समस्या समाधान गर्न धरानबासीलाई अपील गर्नुभएको हो ।

ताजा समाचार

Related Articles