१० वटै समितिका सभापति निर्विरोध निर्वाचित

लोकप्रिय

काठमाडौँ, भदौ ११ गते ।

प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए ।

नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुईजनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो । एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुनुभएको छ ।

साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गर्नुभएकोमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित हुनुभएको हो ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।

ताजा समाचार

Related Articles