राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १२ गते ।

आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको पहिलो महिनाको लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालयले गत साउनमा ६७ करोड सात लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ७०.०६ प्रतिशत अर्थात् ४६ करोड ९९ लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

आयकर र ब्याजकरमा लक्ष्यभन्दा बढी कर सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा छ । सबैभन्दा कम कर स्वास्थ्य सेवा र घर बहाल करबाट सङ्कलन भएको छ । गत साउनमा ६ करोड ८० लाख २२ हजार रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले सात करोड ६३ लाख ५९ हजार रुपियाँ अर्थात् ११२.२६ प्रतिशत सङ्कलन गरेको छ । 

यस्तै, ब्याजकर एक करोड २३ लाख ३७ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी एक करोड ३१ लख ६० हजार रुपियाँ अर्थात् १०६.६७ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाबाट गत साउनमा नौ करोड ९१ लाख ५५ हजार रुपियाँ कर सङ्कलन गर्ने लक्ष्य बनाएको कार्यालयले लक्ष्यभन्दा कम तीन करोड ९८ लाख १० हजार अर्थात ४०.१५ प्रतिशत मात्र सङ्कलन गरेको छ ।

राजस्व कार्यालयले उक्त कर आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा करबाट सङ्कलन गरेको हो ।  

ताजा समाचार

Related Articles