बागमती प्रदेशसभा बैठक १८ गते बस्ने

लोकप्रिय

हेटौँडा, भदौ १३ गते । 

बागमती प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ । प्रदेश सभा विजिनेसविहीन भएका कारण बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि नयाँ विधेयक दर्ता गराएको हो । प्रदेशसभाको अर्को बैठक १८ गते सोमबार बस्नेभएको छ ।

प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश सरकारले यो सँगै थप दुई वटा विधेयक प्रदेश सभामा पेस गर्नेभएको छ । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभामा पाँचवटा विधेयक पेस गर्न स्वीकृति प्रदान गरेको थियो । यसैबीच प्रदेश सरकारले चालु आवमा बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झण्डै दुई महिनामा बस्नेभएको छ ।

विजनेसविहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि यही भदौ १८ गते सोमबार बस्ने भएको छ । बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोमबार दिउँसो १:३० बजेका लागि बैठक बस्ने समय निर्धारण गर्नुभएको जानकारी दिनुभयो ।

बागमती प्रदेशको चालु आवको बजेट गत असार २१ गते पारित भएसँगै अर्को सूचना नभएसम्मका लागि भन्दै प्रदेश सभाका सभामुख पाठकले प्रदेश सभाको बैठक स्थगित गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles