एमालेको लडाइँ विकास र समृद्धिका विरोधीसँग

लोकप्रिय

रुपन्देही, भदौ १७ गते ।

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लडाइँ सधैँ प्रतिक्रियावादी, विकास र समृद्धिका विरोधीसँग हुने बताउनुभएको छ ।

उहाँले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको भन्दै, “रोप्ने बबुलको रुख खोज्ने स्याउ”, उहाँले भन्नुभयो, “हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन् ।”

अध्यक्ष ओलीले एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको आइतबार बुटवलमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी भएको बताउनुभयो ।

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउनुभयो । उहाँले एमालेका नेता तथा कार्यकर्ता पार्टीभित्र एकताका लागि प्रतिबद्ध हुनुपर्ने र विरोधीसँग लड्नुपर्ने बताउनुभयो ।

“लुम्बिनीजस्तो यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेता भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस्”, उहाँले भन्नुभयो, “तपाईँहरूले सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिङ्गो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।”

एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न गरिएको नभइ आवधिकरूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको बताउनुभयो ।

एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो कदापि सफल नहुने बताउनुभयो ।

पार्टी महासचिव शङ्कर पोखरेलले पार्टीभित्रको लोकतन्त्रमा एमाले सबैभन्दा अगाडि रहेको बताउनुभयो । उहाँले एमालेभित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै एमालेलाई बलियो बनाउन नेतृत्व एकताबद्ध रहेको बताउनुभयो ।

पार्टी उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन एमालेविरुद्ध विदेशी शक्तिसँग मिलेर मोर्चाबन्दी गरेको बताउनुभयो । सचिव गोकर्ण विष्टले मुलुकमा स्वतन्त्रता र स्वाधिनतासहितको राष्ट्र बनाउन बलियो सवल र योग्य पार्टी आवश्यक रहेको र यसका लागि एमाले बलियो हुनुपर्ने बताउनुभयो । एमाले प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार चार जना प्रतिनिधि सहभागी छन् ।

ताजा समाचार

Related Articles