विशाल र सनमलाई स्वर्ण

लोकप्रिय

काठमाडौँ, भदौ १८ गते ।

विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक जित्नुभएको छ । 

एसियन शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण जित्नुभएको हो । थाइल्यान्डका बालान्कन पठानसिरावत तेश्रो हुनुभयो । 

महिला स्विम सुट फिजिक खुलातर्फ सनमले स्वर्ण जित्नुभयो । उहाँले हङकङकी मा सिन यीलाई पछि पार्नुभयो । दक्षिण कोरियाकी किम सोयुन तेश्रो हुनुभयो । 

पुरुष ५५ केजीमा नेपालका सुरेश दुवालले रजत जित्नुभयो । उहाँ भियतनामका बुइ दाक फि भुँगसँग पराजित हुनुभयो । मलेसियाका अज्री विन अस्मत सेफ्रिले कांस्य जित्नुभयो । 

यस्तै नेपालले ६० केजी तौलमा नेपालल दुई पदक जित्यो । अश्मिनबाबु गरुङ्गेले रजत र कमल भण्डारीले कांस्य जित्नुभयो । यस विधामा थाइल्यान्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनिय शारीरिक सुगठन ७५ केजीसम्म र ७५ केजी माथी, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष मुनी, महिला फिटनेस फिजिक १ सय ६५ सेमीसम्म, १ सय ६५ सेमीमाथि प्रतिस्पर्धा भएको थियो । 

यस्तै महिला टिनेज एथलेट फिजिक १५–१८ वर्ष, महिला स्विम सुट खुला, महिला जुनियर मोडल फिजिक २१ वर्षमुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्ष माथी गरि १५ विधामा प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा १७ राष्ट्रका १ सय ६८ पुरुष र ६८ महिला गरि २ सय ३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङकङ, भारत, काजाखस्तान, मकाउ, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता  रहेको छ । च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्समा एक गरी ४५ विधामा प्रतिस्पर्धा हुनेछ ।

ताजा समाचार

Related Articles