मनास्लु हिमाल आरोहण गर्न ६० जनाले लिए अनुमति

लोकप्रिय

गोरखा, भदौ १९ गते ।

यस वर्षको पहिलो सिजनका लागि मनास्लु हिमाल आरोहणका लागि ६० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न मुलुकका ५४ जना पुरुष र ६ जना महिला गरी कुल ६० जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । मनास्लु हिमाल आरोहण गर्न अनुमति लिनेहरूमा रसियाली नागरिकहरूको सङ्ख्या धेरै रहेको छ । 

सेप्टेम्बर, नोभेम्बर र अक्टोबर महिनामा हिमाल चढ्नका लागि उनीहरूले अनुमति लिएका हुन् । गएको वर्ष तीनसय चार जनाले अनुमति लिएको विभागले जनाएको छ । 

मनास्लु हिमाल आरोहणका लागि डोरी टाङ्ग्ने (रोप फिक्सिङ)  काम समेत सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) मनास्लुको बेस क्याम्प पुगिसकेका छन् ।

अनुकूल मौसम रहँदा एक महिनामै मनास्लुको चुचुरोसम्म डोरी टाङ्ने (रोप फिक्सिङ) काम गरिसक्ने इम्याजिन नेपालका प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिनुभयो । रोप फिक्सिङका लागि १५ जना हिमालमा खटिएका छन् । 

सिजन भर्खरै सुरु भएकोले हिमाल आरोहण गर्ने नागरिकहरूको सङ्ख्या बढ्ने चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा बताउनुहुन्छ । यस क्षेत्रमा पर्यटकहरू आउन थालेसँगै यहाँका होटल व्यावसायीहरु समेत खुशी हुन थालेका छन् । मनास्लु हिमाल आरोहणका लागि पहिलो बेसक्याम्प सामागाउँमा रहेको छ । पर्यटकहरू अधिकांश हेलिकप्टर मार्फत सामागाउँ पुग्ने गर्दछन् । 

ताजा समाचार

Related Articles