न्वागी पर्वमा राक्सिराङमा दुई दिन बिदा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २१ गते ।
सिमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व छोनाम (न्वाँगी) का अवसरमा मकवानपुर राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रकृति पुजक सीमान्तकृत समुदायको महत्वपूर्ण पर्व न्वागीमा अवसरमा हर्षोल्लासपूर्वक मनाउन दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुई दिन पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बदिा हुने छ । उहाँले चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वागी पर्वको अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ पर्व मनाउन देश तथा विदेशमा रहेका चेपाङ समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
यस पर्वमा चेपाङका पुरोहित पान्दे झाक्रीहरुले रातभर एक पाखे ढ्याङ्ग्रो ठोकेर मन्त्रोच्चारण गरेर नयाँ अन्न देवता र पितृलाई चढाउँदै आफूहरुले पनि खाने गर्छन् । छोनाम पर्वलाई चेपाङ जातिले दशैँ तिहारभन्दापनि ठूलो पर्वको रुपमा मनाउने गर्छन् ।
यसैबीच न्वागी पर्व चेपाङ समुदायले आफ्नो घरपरिवारसँगै यो पटक धादिङ जिल्लाको गजुरी गाउँपालिका ५ स्थित च्याङ्लीमा सामुहिक रुपमा मनाउने भएका छन् ।
नेपाल चेपाङ सङ्घको आयोजनामा आगामी शुक्रबार गजुरी गाउँपालिका ५ स्थित च्याङ्लीमा चेपाङ समुदायले एकत्रित भएर सामुहिक रुपमा पर्व मनाउने निर्णय गरिएको हो ।
चेपाङ समुदाय बाहुल्य रहेको बागमती प्रदेशको मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले पर्व मनाउन चेपाङ समुदायलाई सार्वजनिक बिदा गत वर्षदेखि दिँदै आएको छ । यस वर्ष पनि बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष एवं संविधान सभाका सदस्य गोविन्दराम चेपाङले न्वाँगी पर्वमा शुभकामना आदान प्रदानसँगै विधिपूर्वक पूजा र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइने जानकारी दिनुभयो ।
फाइल फोटोः चेपाङ समुदायको न्वागीको अवसरमा झाक्रीले एक पाखे ढ्याङ्ग्रो बजाउँदै ।

ताजा समाचार

Related Articles