संविधान दिवस विविध कार्यक्रम गरी मनाइने

लोकप्रिय

हेटौँडा, भदौ २७ गते ।
संविधान दिवस (राष्ट्रिय दिवस) २०८० बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
संविधान दिवस प्रदेशस्तरमा मनाउन प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा प्रदेश सभाका सभामुख, प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका उपसभामुख, प्रदेश सभाका सदस्यहरु, प्रदेश सरकारका सचिवहरुलगायत विभिन्न सङ्घसंस्थाहरु रहेको संविधान दिवस (राष्ट्रिय दिवस) २०८० मूल समारोह समिति गठन गरिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार आयोजित अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा तीन दिनसम्म विविध कार्यक्रमहरु आयोजना गरी मनाउन लागेको जानकारी दिनुभयो ।
उहाँले संविधान दिवस आगामी असोज २, ३ र ४ गते मनाइने बताउँदै सरसफाइ, तीनै दिन मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान, निकायले दीपावली गर्ने र असोज ३ गते विशेष कार्यक्रम गरिने बताउनुभयो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा मधुमेह तथा रक्ताचापको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने र हेटौँडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
यस्तै प्रदेशको १३ वटै जिल्लामा वृक्षरोपण कार्यक्रम गरिने भएको छ ।
साथै असोज ३ गते प्रादेशिक विविधता झल्कने झाँकी, व्याण्ड बाजासहित मार्चपास र प्रभातफेरिपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्राङ्गणमा विशेष कार्यक्रम गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

Related Articles