‘चुरे हाइक’ का लागि पुग्ने पर्यटक बढ्दै

लोकप्रिय

बाँके, भदौ २८ गते ।

बाँके राष्ट्रिय निकुञ्जमा ‘चुरे हाइक’ का लागि पुग्ने पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ । ‘चुरे हाइक’ गर्नका लागि बिदा मिलाएर पर्यटकहरू गाभर भ्याली पुग्छन् । गाभर भ्याली होमस्टेबाट उनीहरुलाई चुरे पहाडको चुचुरोसम्म पुर्‍याएर ‘हाइक’ गराइन्छ । पहाडको चुचुरोमा पुगेपछि पर्यटकहरूले आनन्दको अनुभूति गर्छन् ।

बर्खा याम भएपनि गाभरका होमस्टे व्यवसायी कृष्ण चौधरीलाई पर्यटक घुमाउन भ्याई–नभ्याई छ । बिदाको दिन पारेर पाहुनाहरू प्रायः चुरे हाइक गर्न आउनुहुन्छ, उहाँहरूलाई हामी समूह बनाएर चुरे पहाडको चुचुरोसम्म लैजान्छौँ,’ होमस्टे महासङ्घ नेपालका महासचिव एवम् गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले भन्नुभयो, ‘बर्खाको सिजन भएपनि हामीलाई कुनै समस्या छैन, चुरे हाइक गर्नेहरू बढ्न थाल्नुभएको छ ।’ चुरे हाइक गर्न पर्यटकहरू गत साउन महिनादेखि आउन सुरु गरेका हुन् ।

‘हामी उहाँहरूलाई बिहान ७ बजे नास्ता खुवाएर चुरे हाइकमा लैजान्छौँ, उहाँहरूलाई चुरे पहाडमै खाना खुवाउँछौँ, नेचर गाइड शुल्क र निकुञ्ज प्रवेश शुल्क समेत गरेर १० जना भन्दा बढी सङ्ख्यामा आउने समूहसँग प्रति व्यक्ति एक हजार रुपैयाँ मात्रै लिन्छौँ,’ चौधरीले भन्नुभयो ‘उहाँहरूलाई हामी बिहान ७ बजे चुरे लैजान्छौँ र दिउँसो २ बजे फर्काएर ल्याउँछौँ ।’ गत साउन महिनायता थुप्रै सङ्ख्यामा पर्यटकहरू आएर चुरे हाइक गरिसकेको चौधरीले बताउनुभयो । चुरे हाईकका लागि साउनदेखि कात्तिक महिनासम्म उपयुक्त मानिने पर्यटन व्यवसायी बताउँछन् ।

२०६७ साल असार २८ गते स्थापना भएको निकुञ्जको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ । यस्तै निकुञ्जको मध्यवर्ती क्षेत्रको क्षेत्रफल भने ३ सय ४३ वर्ग किलोमिटर छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यानलाई क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो ।

ताजा समाचार

Related Articles