स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा बन्द

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ३१ गते ।
हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालमा चिकित्सकहरुमाथि भएको कुटपिटको घटनाको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेका सेवा तीन दिनदेखि ठप्प पारिएको छ ।
चिकित्सकहरुमाथि भएको कुटपिट घटना प्रकरणमा स्थानीय प्रहरी प्रशासनले कारबाही नगरेको भन्दै स्वास्थ्यकर्मीहरुले हेटौँडा अस्पताललगायतका जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सेवा गत शुक्रबारदेखि बन्द गरेका हुन् ।
चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा शुक्रबारबाट अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द रहेको हेटौँडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकहरुमाथि गत बुधबार अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गरिएको थियो ।
डेङ्गुको लक्षण देखिएर सञ्चो अस्पतालमा उपचारका लागि गत साउन २२ गते आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका राजेश प्रधानलाई अस्पतालले २३ गते चितवनस्थित अस्पतालमा उपचारको लागि प्रेषण गरेको थियो । ४१ वर्षीय प्रधानको उपचारको क्रममा गत साउन २५ गते चितवनमा मृत्युभएको थियो । प्रधानको मृत्युको विषयलाई लिएर उनका आफन्तले चिकित्सकमाथि कुटपिट गरेका हुन् ।
यसैबीच चिकित्सक कुटपिटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका चार जना उपर अनुसन्धान गर्न जिल्ला अदालतबाट पुनः थप पाँच दिनको म्याद थप भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले अदालतबाट अनुसन्धानका लागि आइतबार थप पाँच दिनको म्याद थप भएको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न गत शुक्रबार तीन दिनका लागि म्याद थप भएको थियो ।
चिकित्समाथि कुटपिटमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतकका श्रीमती रमा, छोरा अमित, छोरी रमिता र भतिज अनुपलाई पक्राउ गरेको छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार घटनामा संलग्न भएको अभियोगमा थप पाँच जनालाई पक्राउ गर्न अनुमति पुर्जीसमेत प्राप्त भएको छ । उहाँले प्रहरी उनीहरु नजिक पुगेको छिट्टै सार्वजनिक गरिने बताउनुभयो ।
स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न दोषीलाई पक्राउ र कारबाहीको सट्टा प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा प्रहरीकै उपस्थितिमा चिकित्सकमा धम्की र त्रासको वातावरण सिर्जना हुँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै स्वास्थ्यकर्मीहरुले विरोध गर्दै आएका छन् ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल कार्कीले पक्राउ परेकामध्ये दुई जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराउनुभएको छ ।

ताजा समाचार

Related Articles