प्रतिजैविक औषधी प्रयोग नगर्न विभागको निर्देशन

लोकप्रिय

काठमाडौँ, असोज १ गते ।

सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन । उहाँले ती प्रतिजैविक औषधीको प्रयोग गर्न औचित्य नभएको समेत बताउनुभयो । 

“डलब्चुएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन  प्रकारका प्रतिजैविक औषधीको सूची प्रकाशन गरेको छ,” उहाँले भन्नुभयो, “ती औषधी न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौ ।” उहाँका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधी भने दर्ता गरिएका छन् । 

विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ । 

महानिर्देशक ढकालले प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधी सल्लाहकार समितिको सिफारिसमा ती औषधीको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताउनुभयो । 

विभागमा दर्ता भएका र नभएका तथा डब्लुएचओबाट सिफारिस नगरिएका प्रतिजैविक औषधीको समिश्रणहरु र सो औषधीको समिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ/दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधीको समिश्रणको उत्पादन अनुज्ञापत्र, बजार विक्री वितरण प्रमाणपत्र, पैठारी दर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ । 

ताजा समाचार

Related Articles