गणेशमान सिंहको सन्देश नयाँ पुस्तामा पुर्‍याउन आवश्यक 

लोकप्रिय

भक्तपुर, असोज २ गते । 

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा मानेको नेता भएको जानकारी दिनुभयो ।

उहाँले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नुभन्दा समेत अस्वीकार गरेको स्मरण गर्नुभयो । उहाँले प्रतीकसहितको गणेशमान पार्कले उहाँको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्‍याउने विश्वास लिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले गणेशमानको साथ र सामीप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गर्नुभयो । उहाँले गणेशमानको सामीप्यताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्नु उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले गणेशमान जस्तो महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने बताउनुभयो । उहाँले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानुपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गर्नुभयो ।

‘‘गणेशमान सिंहलाई म सर्वमान्य नेताको रूपमा मान्छु । नेपालमा एउटा नेता गणेशमान सिंह हो । एक पटक सम्पूर्ण नेपालीले नेता माने । वामपन्थी र कांग्रेस नभनी सबैले मानेको नेता उहाँ नै हो । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन । राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठाको निष्काम कर्महरू भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्‍याउन सक्नुपर्छ । वाटिकाले गणेशमानको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पु¥याउँछ ।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘उहाँको साथ र समिप्यता मेरो राजनीतिक जीवनमा पनि पाए । त्यसले मलाई सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको छ । लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन । जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यस्ता महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला ।’’

राष्ट्रपति पौडेलले भक्तपुर बासीका लागि गणेशमान सिंहको प्रतीक र पार्क स्थापना गर्नु भाग्यको कुरा भएको बताउनुभयो । उहाँले गणेशमान सिंह पार्कले भक्तपुरको भाग्य कोर्न मद्दत गर्ने औँल्याउनुभयो । राष्ट्रपति पौडेलले पार्कले भक्तपुरको पर्यटन विकासलाई महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले भक्तपुर बासीहरूले गणेशमान सिंह पार्क बनाए भनेर चित्त दुखाउने ठाउँ नभएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles