बारीबाटै ड्रयागन फ्रुट बिक्री

लोकप्रिय

तनहुँ, असोज ३ गते । 

नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी समिति तनहुँको अध्यक्ष कल्पना गौलीले लगाएको सिउँडी फल (ड्र्यागन फ्रुट) किन्न ग्राहक बारीमै पुग्छन्। 

फल बारीमै बिक्री हुन थालेपछि गौली उत्साहित बन्नुभएको छ। ड्र्यागनका पारखी खरिदका लागि बारीमै पुग्ने र टिकटक बनाउनेको भिड लागेपछि महिला उद्यमी गौली दङ्ग पर्नुभएको छ। लस्करै मिलाएर लगाइएको ड्र्यागनको आकर्षण फल र फूलले धेरै मन जितेकाले टिकटक बनाउने, सेल्फी खिच्ने र फल किनेर लैजाने गरेका छन्। सोमबार एकै दिनमा दुई लाख ५० हजार रुपियाँको बिक्री भएको गौलीले जानकारी दिनुभयो। 

बुवाको मुख हेर्ने चाड कुशेऔँसी नजिकै आइरहेको र तिजको दर खानेले लैजाने गरेकाले एकै दिनमा धेरै बिक्री भएको उहाँले बताउनुभयो। गौलीले भन्नुभयो, “पाकेको सबै बिक्री भयो अब एक लाखको बिक्री गर्न बाँकी भएकाले तीन लाख ५० हजार आम्दानी हुने अपेक्षा गरेको छु।” प्रतिकिलो छ सय रुपियाँमा बारीबाटै बिक्री भएको गौलीले जानकारी दिनुभयो। गौलीले विषादी प्रयोग नगरी ड्र्यागन खेती गर्नुभएको छ। काँचो पात र असुरो, तितेपातीको झोल मिसाएर छर्किएपछि विष प्रयोग गर्नु नपरेको गौलीले बताउनुभयो। पूर्ण रूपमा प्राङ्गरिक तरिकाले खेती गरिएकाले ग्राहक किन्न बारीमै आएको गौलीले बताउनुभयो। टिकटक बनाउने र फोटो तथा सेल्फी फोटो खिचेर फेसबुकमा राख्ने बढिरहेकाले यसले कृषि व्यवसाय गरुँ गरुँ भन्ने भावनाको विकासमा टेवा पुगेको गौली बताउनुहुन्छ। 

नेपालमा सफलता पाउँदै गरेको रेड सी प्रजातिको ड्र्यागन गौलीले लगाउनुभएको छ। सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्र्यागन फ्रुटले उत्पादन दिने भएकाले खेती गर्न सहज हुने उहाँले जानकारी दिनुभयो। ड्र्यागन खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा हुने गर्दछ। एक पटक लगाएको खेतीले २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको गौलीले जानकारी दिनुभयो। 

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले अर्गानिक तरिकाबाट उत्पादन भएकाले किन्न बारीमै आएको बताउनुभयो। गौलीले नौ रोपनी जमिन भाडामा लिएर मा अम्बे अर्गानिक कृषि फार्म सञ्चालन गर्नुभएको छ। जसमा सात रोपनी जमिनमा दुई हजार एक सय ड्र्यागनको बोट लगाउनुभएको छ। दुई वर्षअघिदेखि उहाँले फार्म सुरु गर्नुभएको हो। 

ड्र्यागनका लागि मात्रै ४२ लाख ५० हजार रुपियाँ लगानी गरेका कृषक गौलीले जानकारी दिनुभयो। गौलीले ड्र्यागनको व्यावसायिक बिरुवा उत्पादन गर्दै आउनुभएको छ। ड्र्यागनको बिचमा कुभिन्डोको खेतीसमेत गर्नुभएको छ ।     

ताजा समाचार

Related Articles