बिपी व्यवहारिक शिक्षाको पक्षमा हुनुहुन्थ्योः माथेमा

लोकप्रिय

काठमाडौँ, असोज ३ गते ।

नेपाली कांग्रेसको ११०औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको बिपी साहित्य सम्मेलनको स्थगित तेश्रो दिनको कार्यक्रम बुधबार शुरु भएको छ।

कांग्रेसको मुख्यालय बिपी स्मृति भवनमा बुधबारको कार्यक्रमको प्रारम्भ त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले
‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण प्रस्तुत गर्नुभयो ।

सो अवसरमा बोल्दै शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनीय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गर्नुभयो ।

‘बिपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित थियो। शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छ। तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ। बिपी त्यही राजनेता हुनुहुन्थ्यो’, डा। माथेमाले भन्नुभयो ।

उहाँले राजनीतिक हस्तक्षेपबाट र शिक्षाको व्यापारिकरणबाट शिक्षालाई अलग गर्न सक्नु पर्ने बताउनुभयो । नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाको लागि अभिभावकहरुले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो। बिपीले सृजनशीलता र नविन शिक्षाको एवम् सबैका लागि शिक्षा , हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नु भएको थियो।

हाल नेपालका विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप चरम रुपमा छ । उपकूलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र भताभुङ्ग भएको जनाउँदै डा. माथेमाले परिक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याउनु भयो।

‘बिपीले दलित, मधेशी, मुश्लिम र आदिवासी समुदायमाथि असाध्यै समान व्यवहार गर्नुहुन्थ्यो। सबै वर्गको पहुँच थियो । तर अहिले नेपालको उच्च शिक्षामा ८० प्रतिशत बढी क्षेत्र, वाहुन र नेवार समुदायको बाहुल्यता छ’, उहाँले भन्नुभयो ।

आफू त्रिभुवन विश्वविद्यालयको उपकूलपति भएको र त्यसवेला नियुक्ति पाउँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष आफूले कुनै भनसुन वा निवेदन नदिएको भन्दै राजनीतिक हस्तक्षेप कुनै पनि तवरले बेहोर्नु नपरेको दृष्टान्त प्रस्ततु गर्नुभयो ।

ताजा समाचार

Related Articles