बृहत् पदयात्रामा विदेशी पर्यटक

लोकप्रिय

ताप्लेजुङ, असोज ३ गते ।

 बृहत् पदमार्गका रूपमा रहेको ग्रेट हिमालयन ट्रेल पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका छन् । ताप्लेजुङदेखि सुरु भई पश्चिम दार्चुला पुगेर टुङ्गिने पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका हुन् । 

उच्च हिमाली क्षेत्र अन्तर्गत रहेको ग्रेट हिमालयन ट्रेल (बृहत् पदमार्ग) मा विदेशी पर्यटकले यस वर्षको पदयात्रा सुरु गरेका हुन् । प्रकृतिको अनुपम सुन्दरतामा रमाउँदै पदयात्रा गरिने भएकाले ग्रेट हिमालयन ट्रेल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै गएको छ । ग्रेट हिमालयन ट्रेलको पदयात्रामा आउनुभएका स्लोभेनियाका पर्यटक अहिले घुन्सा पुग्नुभएको छ । 

कञ्चनजङ्घा हिमालको प्रवेश स्थलका रूपमा रहेको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सा पुगेको विदेशी पर्यटक स्लोभेनियाका ६७ वर्षीय मारिया र ६६ वर्षीय आन्द्रे रहनुभएको छ । उहाँहरू ग्रेट हिमालयन ट्रेलमा पदयात्रा गर्न आएको यस वर्षको दोस्रो पदयात्री टोली बन्नुभएको छ । विश्वको अग्लो हिमाल सगरमाथा, तेस्रो अग्लो कञ्चनजङ्घासहित आठ वटा हिमालको सफल आरोहण गरिसक्नुभएका मारिया र आन्द्रे प्रख्यात आरोही दम्पती पनि हुनुहुन्छ ।

मारिया र आन्द्रे दम्पतीले सन् १९८६ मा सगरमाथा र सन् १९९१ मा कञ्चनजङ्घा हिमालको सँगै आरोहण गर्नुभएको थियो । यस्तै चोयु, धौलागिरि, ब्रोड पिकसहित आठ वटा हिमालको सँगै सफल आरोहण गरेर गिनिज बुकमा नाम लेखाइसक्नुभएका दम्पतीले ग्रेट हिमालयन ट्रेलको साहसिक पदयात्रा सुरु गर्नुभएको हो । 

पछिल्लो समय विकासका नाममा सडकलगायतका पूर्वाधार निर्माणले प्राकृतिक सौन्दर्यतामा क्षति पुगिरहेका बेला प्रकृतिलाई जोगाई राख्न र प्राकृतिक भू–बनावट तथा सुन्दरतालाई जोगाई राख्नु पर्छ भन्ने सन्देश दिन आफूहरू पदयात्रामा निस्किएको उहाँहरू बताउनुहुन्छ । नेपालमा पर्यटनको सम्भावना प्रशस्त रहेको र यसका लागि यहाँको प्राकृतिक सुन्दरतालाई कायम राख्नुपर्ने उहाँको भनाइ छ ।

ग्रेट हिमालयन ट्रेलको पदयात्रा पूरा गर्न कम्तीमा १२० दिन लामो समय लाग्ने पथप्रदर्शक (गाइड) इन्सुहाङ राईले बताउनुभयो । उहाँका अनुसार यो साहसिक पदयात्रा गर्न आफ्नै देश स्लोभेनियाबाट मारिया र आन्द्रेको जोडी योजना बनाएरै नेपाल आउनुभएको हो । ग्रेट हिमालयन ट्रेलको पदयात्रा पूरा गर्न खर्चका हिसाबले पनि निकै महँगो अर्थात् ५० देखि ६० लाख रुपियाँसम्म लाग्ने राईले बताउनुभयो । 

ताजा समाचार

Related Articles