राजश्व सङ्कलनमा गिरावट  

लोकप्रिय

चितवन, असोज ३ गते ।

कोभिडपछि क्रमशः  उद्योग व्यवसाय धराशायी हुँदा यसको गम्भीर असर राजश्व सङ्कलनमा परेको छ । नयाँ व्यवसाय नथपिनु, भएका व्यवसाय टाट पल्टिँदै जानु र देशमा उत्पादन र उपभोग कम हुँदै जानु र क्रय शक्तिमा ह्रास आउँदा लक्ष्य अनुसार राजश्व सङ्कलन हुन नसकेको हो ।  आर्थिक मन्दीका कारण कतिपय उद्योग व्यवसाय बन्द हुनु, भएका कम क्षमतामा चल्नु, बैङ्कको ब्याज नघट्नु र भएका उत्पादित बस्तु पनि बिक्री नभएका कारण राजश्व असुलीमा भारी गिरावट आएको  आन्तरिक राजश्व कार्यालय भरतपुरले जनाएको छ । 

कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को साउन महिनामा लक्ष्य भन्दा ३७ प्रतिशतले कर असुली घटेकोमा  यो अनुपात घटेर भदौमा लक्ष्य भन्दा ४६ प्रतिशतले  राजश्व असुली कम भएको छ । 

जसअनुसार साउन महिनामा कार्यालयले सबै शीर्षक गरी ६२ दशमलब ९ प्रतिशत राजश्व असुली गरेकोमा भदौमा आएर ५४ दशमलब ४७ प्रतिशत मात्र राजश्व असुली गरेको छ । कार्यालयले आयकर, ब्याजदर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर, घर बहाल कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर शीर्षक मार्फत कर सङ्कलन गर्दै आएको छ । यी मध्ये आयकर शीर्षकमा मात्र लक्ष्य भन्दा बढी कर असुली भएको छ भने अन्य कुनै शीर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन । 

कार्यालयले दिएको जानकारी अनुसार भदौ महिनामा आयकर शीर्षकमा  १८९ दशमलब शुन्य ९ प्रतिशत राजश्व असुली गरेको छ । यस्तै ब्याजदरमा ३१ दशमलब ४१ प्रतिशत, घर बहाल करमा ६५ दशमलब ६४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ५७ दशमलब ९२ प्रतिशत, अन्तशुल्क शीर्षकमा ४७ दशमलब ३५ प्रतिशत ,स्वास्थ्य सेवा करमा ५८ दशमलब १५ प्रतिशत कर असुली गरेको छ  भने शिक्षा सेवा करमा कुनै कर असुली भएको छैन ।

कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले राजश्व असुलीको अनुपात हरेक महिना क्रमशः घट्दै गएको बताउनु भयो  । ‘अहिले नयाँ व्यवसाय गर्ने पनि घटेका छन् , पुराना कम्पनी नवीकरण गर्ने पनि कम छन् , उहाँले भन्नुभयो , मुख्य कुरा त आर्थिक गतिविधि नै सुस्त छ ।’ चितवनको राजश्व असुली अन्तःशुल्कमा निर्भर हुने भएकोले पछिल्लो समय मदिराजन्य बस्तुको बिक्रीमा भारी गिरावट आएको उहाँले बताउनु भयो  । ‘अधिकांश मानिसमा दैनिक खर्च चलाउन समेत समस्या छ । आर्थिक मन्दी चरम छ ।व्यापार छैन , उपभोग पनि छैन ।’ रावतले भन्नुभयो  ।

ताजा समाचार

Related Articles