‘एचपिभि खोप’ असोज १० गतेसम्म लगाइने

लोकप्रिय

काठमाडौँ, असोज ५ गते ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभि’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिनुभएको हो ।

अब असोज ६ गते शनिबारदेखि १० गते बुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो । डा.गौतमले खोप लगाउने समयावधिमा शनिबार, शोक बिदा, बाल दिवस, तीज, शिक्षक आन्दोलन लगायतका कारण व्यवधान आएकाले अभियान प्रभावकारी हुन नसकेको बताउनुभयो । देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरुको सङ्ख्या साढे तीन लाख रहेको छ । ती मध्ये डेमोष्ट्रेसन (नमूना) स्वरुप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ हजार नौ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो । खोप वि.सं २०६५ भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बिनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपिभि खोप लगाएका छन् ।

‘‘एचपिभि खोप डेमोष्ट्रेसन कार्यक्रममा नै छौँ । प्रदेशका सात वटा छानिएका अस्पतालहरुबाट सञ्चालन भइरहेको छ । सबैभन्दा धेरै कोसी अस्पतालबाट ८४ प्रतिशत किशोरीले एचपीभी खोप लगाउनुभएको छ । मधेशमा करिब ५६ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बिनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशत रहेको छ । नेपालभरको समग्र रुपले हेर्दा पाँच हजार भन्दा बढी किशोरीले खोप लगाइसकेका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यो भनेको हामिले ५० प्रतिशत लगाए, हिजो सम्मको तथ्याङ्कमा । केही स्थानमा खोपको वितरण सोचे जति राम्रो भएको छैन । सोचे अनुसार नहुनुको कारण चाहीँ एक दिन बिराएर बिदा पनि परेको थियो । शनिवार, शोक बिदा भयो, बाल दिवस भयो, तीज भयो । यस्तो कारणले गर्दा चाहीँ बिदामा त्यती राम्रोसँग गर्न सकेनौँ ।’’

सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट एचपिभि खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो ।कोशी प्रदेशको कोशी अस्पताल, मधेश प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ । खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपिभि खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

ताजा समाचार

Related Articles