लक्ष्यभन्दा कम राजस्व सङ्कलन

लोकप्रिय

हेटौँडा, असोज ५ गते । 

आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको दोश्रो महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामाभन्दा भदौ महिनामा लक्ष्यभन्दा पनि कम राजस्व सङ्कलन भएको हो ।

गत भदौ महिनामा कार्यालयले करिब ६५ प्रतिशत राजस्व सङ्कलन गरेको तथ्याङ्क छ । पहिलो महिना अर्थात् गत साउन महिनामा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको थियो । यस्तै, साउन र भदौमा लक्ष्यको करिब ६८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । साउन र भदौमा गरी एक अर्ब २९ करोड ९० लाख २३ हजार रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले ६७.७१ प्रतिशत अर्थात् ८७ करोड ९६ लाख छ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गर्न सक्षम भएको देखिन्छ ।

कार्यालयले भदौ महिनामा ६२ करोड ८२ लाख ५७ हजार राजस्व सङ्कलनको लक्ष्य राखेकोमा लक्ष्यभन्दा कम ६५.२ अर्थात् ४० करोड ९६ लाख ५० हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । साउन महिनामा जस्तै भदौ महिनामा पनि आयकर र व्याजकरमा लक्ष्यभन्दा बढी कर सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा छ । यस्तै, सबैभन्दा कम कर स्वास्थ्य सेवा करबाट सङ्कलन भएको छ ।

भदौ महिनामा तीन करोड ८६ लाख ८९ हजार आयकर सङ्कलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी १३१.९९ प्रतिशत अर्थात् पाँच करोड १० लाख ६६ हजार रुपियाँ सङ्कलन गरेको छ।

यस्तै, ब्याजकर ४३ लाख ८७ हजार सङ्कलन गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी ५४ लाख ७६ हजार रुपियाँ अर्थात् १२४.८४ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाबाट गत भदौमा आठ करोड ८६ लाख चार हजार रुपियाँ कर सङ्कलन गर्ने लक्ष्य बनाएको कार्यालयले लक्ष्यभन्दा कम तीन करोड ९५ लाख ३७ हजार अर्थात् ४४.६२ प्रतिशत मात्रै सङ्कलन गरेको छ ।

राजस्व कार्यालयले उक्त कर आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा करबाट सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालयले गत साउनमा ६७ करोड सात लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ७०.०६ प्रतिशत अर्थात ४६ करोड ९९ लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियाे ।

ताजा समाचार

Related Articles