फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ

लोकप्रिय

काठमाडौँ, असोज ८ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताउनुएको छ । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर फार्मेसी चलाउने जस्ता गैरकानूनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनु पर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तिव्र पारेको बताउँदै मन्त्री बस्नेतले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारवाही अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको छ । यो हुनु हुदैन । कानून बिपरित अर्कैको फोटो झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ । ’ देशमा फार्मेसी पढेकाले काम नपाएर बस्नु पर्ने तर नपढेकाहरुले अर्कैको फोटो झुन्ड्याएकै भरमा फार्मेसी चलाउने प्रवृति अन्त गर्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जनताले गुणस्तरीय औषधिका साथै औषधिका बिषयमा सही सूचना प्राप्त गर्नका लागि फार्मेसीमा फर्मासिस्ट हुनै पर्ने बताउनुभयो । उपभोक्तालाई औषधिका बिषयमा सही सूचना प्रदान गर्ने जिम्मेवारी पनि फर्मासिस्टको भएको महानिर्देशक ढकालले बताउनुभयो ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले औषधि क्षेत्रको विकासमा फार्मेसी र फर्मासिस्टहरुको अहं भूमिका रहेको स्मरण गर्दै फर्मासिस्ट औषधि पशलेमात्र हो भन्ने मनसायबाट फर्मासिस्ट गाइडेड हुनु नपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकालले फार्मेसी र फर्मासिस्ट एउटै सिक्काका दुई पाटो भएकाले यसको विकासमा सरकारले पनि ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघकी उपाध्यक्ष मीना भट्टले नेपालमा सहायक स्तरमा फर्मासिस्टको संख्या १२ हजार र ६ हजार फर्मासिस्ट गरि कुल १८ हजार फर्मासिस्ट भएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles