सङ्घीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध 

लोकप्रिय

सुर्खेत, असोज १० गते । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनुभएको छ । उहाँले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामती कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताउनुभयो । 

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरेको छ,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामती र प्रहरी ऐन तयारी गरेर संसदमा दर्ता गर्ने तयारी गरिरहेका छन् ।’ उहाँले संघीय सरकारले कानुन नबनाउँदा सङ्घीयताको अनुभूति नागरिकले प्रत्यक्ष गर्न नसेको बताउँदै वर्तमान सरकार सङ्घीयता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको बताउनुभयो । उहाँले केही दिनभित्रै सुशासन सम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिनुभयो । 

कार्यवाहक प्रधानमन्त्री  खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताउनुभयो । उहाँले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको बताउनुभयो । ‘चीनसँग भएका सहमति र सम्झौताहरू देश हितमा छन्, खड्काले भन्नुभयो, ‘गठबन्धनको सहमतिका यी सबै सहमति प्रधानमन्त्रीले गर्नु भएको हो ।’ 

ताजा समाचार

Related Articles