चितवन असोज ११ गते । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ । मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएकोे हो । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा.खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ४० लाख बजेट विनियोजन गरिएको छ ।
यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषदबाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्नेछ । यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पुर्य ाएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ ।
स्वास्थ्यमन्त्री उत्तम जोशी नियुक्त हुँदा पहिलो निर्णय जोखिममा रहेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने कुरा उल्लेख गर्नुभएको थियो । सोही विषय कार्यान्वयन गर्न निर्देशिका बनाएर काम अघि बढाइएको हो । उहाँले भन्नुभयो “प्रदेशभित्रका विकट ठाउँका महिलाले भोग्नुपरेको समस्या सम्बोधन गर्न यो निर्णय गरेको हुँ ।” उपचारको अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउनु परेको भन्दै उहाँले अबका दिनमा त्यो समस्या नआओस् भन्नका लागि बजेट विनियोजन गरी काम अघि बढाइएको बताउनुभयो । मन्त्री जोशीले थप्नुभयो “देशकै स्वास्थ्यका क्षेत्रमा अब्बल जिल्ला यो प्रदेशमा पर्छ । त्यति मात्रै होइन, निकै विकट ठाउँ पनि यही प्रदेशमा छन् ।”
कतिपय महिलाले बच्चा जन्माउँदा उपचार नपाएर ज्यान गुमाउनुपरेको र कतिपयले बच्चा जन्मिएपछि उपचार नपाएर पनि मृत्यु भएको उहाँले बताउनुभयो ।