बड्कुलेका बासिन्दालाई निःशुल्क खानेपानी

लोकप्रिय

हेटौँडा, असोज ११ गते ।
खानेपानीको महँगो शुल्क तिर्दै आएका हेटौँडा उपमहानगरपालिका १८ स्थित बड्कुलेका बासिन्दाले अब निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।
मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत सञ्चालन हुँदै आएको खानेपानी योजना बिहीबार एक कार्यक्रमकाबिच हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेसँगै निःशुल्क खानेपानी पाउने भएका हुन् । बड्कुलेका १०४ घरपरिवारले खानेपानीको प्रयोग गर्दै आएको खानेपानी योजना बोर्डलाई हस्तान्तरण गरेसँगै स्थानीय बासिन्दाले १० हजार लिटरसम्म पानी निःशुल्क उपयोगको सुविधा पाउने भएका हुन् । खानेपानी योजना बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले स्थानीय सरकार भएको अनुभूति दिलाउन र सरकारको नागरिकप्रतिको दायित्व पूरा गर्न खानेपानीमा सुविधाको व्यवस्था गरिएको बताउनुभयो ।
मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई योजना हस्तान्तरण गरिएको थियो ।
२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका बासिन्दाले १० हजार लिटर पानीको प्रयोग बापत यसअघि मासिक ६५० रुपियाँ तिर्दै आएका थिए । समितिका अध्यक्ष घलानले कर्मचारी, विद्युत् र मर्मत शुल्क गरेर खानेपानीको लागत मँहगो हुन गएको बताउनुभयो ।
उहाँका अनुसार समितिले चार हजार लिटर पानी वापत मासिक २५० रुपियाँ न्यूनतम शुल्क लिँदै आएका थियो ।

ताजा समाचार

Related Articles