विषयगत समितिहरुको बैठक बस्दै

लोकप्रिय

हेटौँडा, असोज ११ गते ।
बागमती प्रदेश सभा अन्तर्गतका विषयगत समितिहरुको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रदेश सभा गठन भएको पाँच महिनापछि गत भदौको तेश्रो प्रदेश सभा अन्तर्गतका पाँच वटा विषयगत समितिको बैठक पहिलो पटक बसेको थियो ।
पाँच वटा समितिमध्ये दुई वटा समितिमा दफावार छलफलका लागि विधेयकहरु प्रदेश सभा बैठकबाट पठाइएपनि बैठक राख्न ढिलाई गरिँदै आएको छ ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले शुक्रबार पाँच वटै समितिको बैठक बस्ने गरी तयारी भएको जानकारी दिनुभयो ।
उहाँले समितिहरुको बैठकमा समितिको कार्यविधिमाथि छलफलसँगै विधेयक प्राप्त भएका समितिहरुले प्राप्त विधेयकको दफावार छलफलको कार्यतालिका तय गर्ने बारेमा छलफल र निर्णय हुने बताउनुभयो ।
बागमती प्रदेश सभामा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेको छ ।
तीमध्ये प्रदेश मामिला समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा विधेयक प्राप्त भएको छ ।
प्रदेश सभाबाट विधेयकमाथि दफावार छलफलमा लागि गत भदौ ३० गते समितिमा पठाइएपनि अझै समितिको बैठक बस्न नसकेको हो ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक गत बुधबारका लागि कार्यसूचीसहित बोलाइएपनि अन्तिममा स्थगित गरिएको थियो ।
समितिको बैठक प्रदेश सभाका सभामुखको निर्देशनमा स्थगित गरिएको जनाइएको छ ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको गत बुधबारको बैठकका लागि समितिको बैठक सञ्चालनलगायतका कार्यका लागि प्रस्तावित शिक्षा, स्वास्थ्य तथा कृषि समितिको कार्यविधि २०८० माथि दफावार छलफल गर्ने र समितिमा प्राप्त विधेयकको दफावार छलफलसम्बन्धी कार्यतालिका तयारीसम्बन्धी कार्य सूची रहेको थियो ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका समिति शिवराम बोहराले गत बुधबार स्थगित भएको समितिको बैठक असोज १२ गते शुक्रबार दिउँसो बस्ने गरी बोलाइएको जानकारी दिनुभयो ।
उहाँले बैठकमा समितिको बैठक सञ्चालनसम्बन्धी कार्यविधिलगायतका बारेमा छलफल गर्ने गरी समितिको बैठकको कार्य सूची बनेको बताउनुभयो ।
प्रदेश सभामा पेस भएको चार वटा विधेयकमध्ये तीन वटा विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा र एउटा विधेयक प्रदेश मामिला समितिमा दफावार छलफलका लागि प्रदेश सभाबाट पाठइएको छ ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा प्रदेश कृषि विकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश सभाबाट पठाइएको छ । यस्तै प्रदेश मामिला समितिमा प्रदेश सञ्चाल माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका प्रदेश सभाबाट आएको छ ।
प्रदेश सभाका सभामुखका सभामुख भुवनकुमार पाठकले असोज १४ गते आइतबार बिहान ११ः३० बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकपछि समितिहरुको बैठक बोलाउने तयारी गर्नुभएको थियो ।
तर सरकारले समितिका गएका विधेयकहरुमाथि प्रदेश सभाको बैठक अगावै दफावार छलफल गरी अब बस्ने प्रदेश सभाको बैठकमा पेस गर्न चासो देखाएपछि समितिहरुको बैठक बोलाइएको हो ।
बागमती प्रदेश सरकार प्रदेश सभामा पेस भएको विधेयक छिटो पारित गरी दशैँअघि नै प्रदेश सभाको दोश्रो अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको पाइएको छ ।
प्रदेश सभामा पेस भएका बाहेक प्रदेश सभा सचिवालयमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ ।
बागमती प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४५ मा प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विषयगत समिति र विशेष समिति गठन गर्ने व्यवस्था रहेको छ ।
तर पहिलो बैठक कसले बोलाउने र कसरी समन्वय गर्ने भन्ने बारेमा प्रदेश सभा नियमावलीमा स्पष्ट व्यवस्था नभएका कारण बैठक बोलाउन ढिलाइ हुँदै आएको थियो ।
प्रदेश सभाका पाँच विषयगत समितिमध्ये तीन वटा समितिको पहिलो बैठकले समितिको कार्यविधि बनाउन उपसमिति गठन गरेको थियो ।
सार्वजनिक लेखा समितिको कार्यविधि बनाउन सदस्य प्रभात तामाङको संयोजकत्वमा
.अर्थ तथा विकास समितिको कार्यविधि बनाउन डा.दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा र . प्रदेश मामिला समितिको कार्यविधि बनाउन राधिका तामाङको संयोजकत्वमा उपसमिति बनाइएको थियो ।
यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा उपसमिति गठन नगरी समितिबाट नै तयार गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार

Related Articles