दोलखामा थप तीन केजी सुन बरामद

लोकप्रिय

दोलखा, असोज १२ गते । 

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको फलाक नाका हुँदै नेपाल भित्रिएको थप तीन केजी अवैध सुन भेटिएको छ ।

शुक्रवार दोलखाको विगु–३ जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा थप तीन केजी सुन भेटिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताउनुभयो ।

बुधवार राति विशेष सुराकीको आधारमा जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा चार केजी सुन भेटिएको थियो । सुन बरामद भएपछि विगु–१ लामाबगरका १९ वर्षका पेम्बा तामाङ, २८ वर्षका केशर तामाङ र २० वर्षका माधव मगरलाई पक्राउ गरिएको थियो । त्यसैगरी बिहीबार चरिकोटस्थित शुभकामना होटलबाट विगु गाउँपालिका–१ कै ५५ वर्षका नुर्वुछिरीङ शेर्पा र ३० वर्षका सुनमाला तामाङलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका केशर तामाङको बयानको आधारमा उनको अर्को कोठामा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

सुन तस्करीको आशङ्कामै शुक्रवार विगु–१ लामाबगरका राज तामाङलाई काठमाडौँबाट पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

नियन्त्रणमा लिइएको पाँच जनालाई भन्सार ऐन २०६४ तथा सङ्गठित अपराध निवारण ऐन–२०७० विरुद्धको कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । पक्राउ परेकाहरूलाई चिनियाँ नागरिकले नै सुन पठाएको हुनसक्ने खड्काको भनाई छ । यसबारे थप अनुसन्धान पछि भन्न सकिने उहाँले बताउनु भयो ।

ताजा समाचार

Related Articles