सिन्धुलीमाढी, असोज १२ गते ।
सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रका नदी तथा खोलानालाको तटीय क्षेत्रमा यतिखेर बगर नै ढाकेर सेताम्मे फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाएको छ । फुलेको काँसले सौन्दर्य मात्रै बढाएको छैन, वर्षायाम सकिएको पनि सङ्केत गर्छ । नेपालीको मुख्य चाडपर्व तिज, दसैँ, तिहार र छठपर्व आगमनको सङ्केत गर्दै सेताम्मे काँस (कस्यान) फुल्दा रोगव्याध हराउने र किसानले लगाएको बालीनाली सप्रिने विश्वास रहेको स्थानीय बताउँछन् ।
सिन्धुली जिल्लामा यतिखेर चुरे भावर क्षेत्रमा रहेका सुनकोशी नदी, कमला नदी, मरिण खोला, चँदाहा खोला र तावालगायतका खोलानालाको बगरमा बगरै ढाकेर सेताम्मे काँस फुलेको छ । फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाउनुका साथै पर्यटकसमेत लोभ्याएको गोलन्जोर गाउँपालिका–७, खुर्कोटका कृष्णबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “मनै लोभ्याउने गरी अँधेरी खोलाको बगरमा सेताम्मे काँस फुलेको छ । विगतमा झैँ यो वर्ष पनि अत्यधिक मात्रामा काँस फुलेको छ । यो मनमोहक वातावरणमा सेल्फी खिच्ने व्यक्ति बाक्लै देखिन्छन् ।” काँस फुलेसँगै बिपी राजमार्ग र मदन भण्डारी राजमार्गमा यात्रा गर्ने यात्रुलाई समेत आकर्षित गरेको छ ।
खासगरी चुरे भावर र तराई क्षेत्रका खोला किनार बगरमा पाइने काँस भूक्षय नियन्त्रणका लागि महìवपूर्ण मानिन्छ । स्थानीयका अनुसार काँस घर छाउन र गाईभैँसीलाई घाँस खुवाउनसमेत प्रयोग हुन्छ । पछिल्लो समय चरिचरन बन्द गरेसँगै काँसको संरक्षण हँुदै आएको छ । प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न प्राकृतिक उपायकै थालनी गरेका कमलामाई नगरपालिका–१०, दोभानका बासिन्दाले कमला नदीको कटानबाट मरुभूमि जस्तो बनेको बगरमा काँस (कस्यान) उमारी हरियालीमा परिणत गराएका छन् ।
कमला नदीको कटान नियन्त्रण गर्न कुनै पनि सरकारी निकायबाट आवश्यक सहयोग नपाएपछि बगरमा चरिचरन बन्द गरी काँस उमारेर नदीको कटान नियन्त्रण गरिएको स्थानीय बासिन्दा तथा जैविक विविधता संरक्षण समितिका अध्यक्ष देवीबहादुर पाठकले सुनाउनुभयो । उहाँले भन्नुभयो, “कमला नदीले कटान गरेको जमिन यतिखेर हरियाली भएर खेतीयोग्य जमिनमै परिणत हुन थालिसकेको छ । कमलाको सेतो बगर चरिचरन बन्द गरेर हरियाली बनाएका छौँ । अब त तेरो मेरो खेत भन्न सुरु भइसकेको छ ।” खोला किनारमा चरिचरन बन्द गरेर थालिएको जैविक विविधता संरक्षण क्षेत्रमा यतिखेर खयर, सिसौ, डाले घाँसका अतिरिक्त आयआर्जन हुने आँप, लिची, अम्बा जस्ता फलफूलका बिरुवासमेत हुर्किंदो अवस्थामा छन् । दोभानका १६० घरधुरी नै यतिखेर जैविक विविधता संरक्षण अभियानमा लागेर दोहोरो फाइदा लिइरहेका समितिका अध्यक्ष पाठकले जानकारी दिनुभयो । गोरखापत्रबाट ।