एमालेको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित

लोकप्रिय

हेटौँडा, असोज १५ गते ।
बागमती प्रदेश सभाको सोमबारको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको छ ।
प्रदेश सभा बैठकमा प्रस्तुत गर्न लागिएको प्रदेशस्तरको चिठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पुनर्विचार गरियोस् भन्ने प्रस्तावका बारेमा सत्ता पक्ष र विपक्षबिच विवाद भएपछि बैठक स्थगित गरिएको हो ।
प्रदेश प्रमुखको सन्देशसहित उक्त विधेयकलाई पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीका तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले बैठकमा पेस गर्ने क्रममा एमालेका प्रदेश सभाका सदस्यहरुले अवरोध गरेका थिए । विधेयक पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रदेश बैठकमा राख्न सभामुखले समय दिएपछि मन्त्री तामाङले प्रस्ताव राख्ने क्रममा एमाले प्रदेश सभा सदस्यहरुले प्रस्ताव नराख्न माग गर्दै सभामुखको अगाडि पुगेर अवरोध गरेका थिए । मन्त्री तामाङले विरोधका बिच प्रस्ताव पेस गर्न थालेपछि एमालेका प्रदेश सभा सदस्यहरु र मर्यादापालकबिच घम्साघम्सी भएको थियो ।
गत वैशाख १२ गते प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएकोमा प्रदेशस्तरको चिठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक चिठासम्बन्धी सङ्घीय ऐनसँग बाझिएको भन्दै प्रदेश प्रमुखबाट पुनर्विचारका लागि जेठ ७ गते फिर्ता पठाउनुभएको थियो ।
बैठकमा एमालेका प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेश सभा सदस्यलाई पूर्व सूचना बिना चिठा विधेयक पेस गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको थियो ।
एमाले प्रदेश सभाका सदस्यहरुको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक दलहरुबिच सहमति नजुटेपछि सूचना टाँस गरेर मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थागित गरिएको छ ।

ताजा समाचार

Related Articles