सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल कार्यभार

लोकप्रिय

हेटौँडा, असोज १५ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले देशमा सुशासन कायम गरेर छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । आफू सुशासनसहितको आर्थिक समृद्धिको पक्षमा रहेको बताउँदै उहाँले सुशासन र समृद्धिको अभियानलाई पूरा गरेर छाड्ने बताउनुभयो । 

निकास साप्ताहिक, रेडियो सन्देश र थाहा डटकम नेपालको हेटौँडामा सोमबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उहाँले सुशासन र समृद्धिको यात्रालाई रोकेर सरकारमा मात्र बसिरहने पक्षमा आफूहरु नरहेको बताउनुभयो । 

नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र कार्यान्वयनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले सञ्चार क्षेत्रमा देखिएका वर्तमान समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभयो । 

राजनीतिक परिवर्तनको लक्ष्य र जनअपेक्षाअनुसार सरकार र दलहरुले काम गर्न नसकेको कुरा उठेको र त्यो स्वाभाविक पनि भएको भन्दै उहाँले वर्तमान सरकारको सुशासन, समृद्धि र सामाजिक न्याय मूल कार्यभार रहेको र त्यसलाई पूरा गर्न काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसारको अधिकार प्रदेश सरकारले नपाएको बताउनुभयो । रेडियो सञ्चालक संस्थाका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, नेकपा माओवादी केन्द्रका विजय गौतम, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, एकोरावका पूर्व कोषाध्यक्ष लक्ष्मण खड्कालगायतले सञ्चार क्षेत्रका समस्याका बारेमा बोल्नुभएको थियो । 

कार्यक्रममा रामचन्द्र खड्का स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार शम्भु अधिकारीलाई सम्मान गरिएको थियो । 

ताजा समाचार

Related Articles