कोभिड खोप बनाउने प्रविधिलाई नोबेल पुरस्कार

लोकप्रिय

स्विडेन, असोज १६ गते ।

यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ । वैज्ञानिकद्वय काटालिन कारिको र ड्र भाइस्मानलाई चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । 

बिबिसीले जनाए अनुसार दुई वैज्ञानिकले विश्वलाई कोभिड–१९ को महामारीले आक्रान्त पारेका बेला एमआरएनए कोभिड खोप निर्माणका लागि बाटो खोलिदिनुभएको थियो । 

प्रयोगात्मक अवस्थाको खोपको अनुसन्धानलाई पूर्णता दिँदै खोप निर्माण गरेर विश्वका जनताको जिउ ज्यानको रक्षाका खातिर वितरण गरिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । खोपका लागि आवश्यक गुणसहितको सो एमआरएनए प्रविधि पछिल्लो समय क्यान्सरलगायतका अन्य कडा रोगको खोपका लागि समेत प्रयोग गर्न सकिने सम्भावनालाई ध्यानमा राखी थप अनुसन्धान चलिरहेको छ । 

समान्यतया भाइरस वा ब्याक्टेरियाको पहिचान गर्दै तिनैको कोष प्रयोग गरेर प्रतिरोध क्षमताको विकास गरी खोपमा परिणत गरिन्छ । तर एमआरएनए प्रविधिमा त्योभन्दा फरक तरिका अपनाएर प्रतिरोध क्षमतासहितको खोप निर्माण गर्न सघाएको थियो । जुन प्रविधि अपनाउँदै मोडेर्ना र फाइजर बायोटेक कम्पनीले खोपको तीव्र विकास गरेका थिए । नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार विजेताले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठुलोमध्येको एक जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिएकाले नोबेल पुरस्कार प्रदान गरिएको हो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले पनि कोभिड सङ्क्रमणको अवस्था विश्वबाट पूर्ण रूपमा मत्थर भइसकेको छैन । कोभिड भाइरसले आफ्नो जिनमै परिवर्तन गरेर आफ्नो स्वरूप बदल्दै मानव स्वास्थ्यमा बारम्बार आक्रमण गर्ने क्रम जारी रहेको छ । 

सङ्गठनका अनुसार हालसम्म विश्वका ६९ लाख ५९ हजार ३१६ जनाले कोभिड सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । झन्डै ७८ करोड मानिस कोभिड सङ्क्रमणमा परेका छन् ।   

ताजा समाचार

Related Articles