भारतसँग २३ रनले नेपाल पराजित

लोकप्रिय

चीन, असोज १६ गते ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । यो हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतीय टिमले २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीन/तीन विकेट लिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए । १५ बल खेलेका उनले चार छक्का प्रहार गरे । यस्तै सन्दीप जोरा र कुशल मल्लले समान २९ रन बनाए । कुशल भुर्तेल २८ र आसिफ शेख १० रन बनाएर आउट भए । कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए ।

ताजा समाचार

Related Articles