राष्ट्रिय एकता खलबलाउन खोज्नेलाई परास्त गर्नुको विकल्प छैन 

लोकप्रिय

जनकपुरधाम असोज १७ गते ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको गठबन्धन सरकार विकल्प खोज्ने बेला नभएको बताउनु भएको छ । 

समाजवादी प्रेस सङ्गठन मधेश प्रदेशले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्थिरता, सुशासन तथा समृद्धिका लागि अहिले नै वर्तमान प्रधानमन्त्रीको विकल्प खोज्नु ठिक नभएको बताउनु भयो । 

उहाँले काँग्रेस विनाको सरकारको कल्पनासम्म गर्न नसकिने बताउँदै आफू प्रधानमन्त्री बन्नुको साटो विभिन्न बहानामा व्यवस्थालाई नै समाप्त गर्ने गरि भइरहेको षड्यन्त्रलाई चिर्न अहिलेको गठबन्धन सरकारलाई अझ बढी एकताबद्ध भएर अगाडि बढ्नु पर्ने पक्षमा भएको बताउनु भयो । 

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले मुलुकमा सदियौँ देखि स्थापित रहेको नेपाली नेपाली बीचको आपसी सद्भाव, भाइचारा तथा धार्मिक विविधतालाई खलबलाउन खोज्नेलाई परास्त गर्दै वर्तमान संविधानको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु भयो । 

उहाँले विविधता बीचको राष्ट्रिय एकतालाई खलबलाउन खोज्नेलाई सावधान गर्दै हिमाल, पहाड, तराई मधेशका जनता मिलेर बसेको र अगामी दिनमा झनै राम्रो गरि बसेर मुलुकलाई शान्ति, स्थिरता तथा समृद्धिको बाटोमा लाने बताउनु भयो । 

उहाँले मुलुकमा रहेको बेरोजगारी समस्याको समाधान गर्नका लागि सुशासन सहितको समृद्धि आवश्यक रहेको बताउँदै यसका लागि इमान्दार प्रयासको खाँचो रहेको बताउनु भयो । 

नेकपा एसका अध्यक्ष नेपालले पूर्वको मेचीबाट शुरु भएको समाजवादी जागरण अभियानले मुलुकमा समाजवाद स्थापनाका लागि भएको बताउँदै  शिक्षा, स्वास्थ्य, रोजगारी तथा जनतालाई बाँच्न पाउने अधिकारको सम्मान नभएसम्म समाजवादको कल्पना गर्न नसक्ने बताउनु भयो ।  

उहाँले नेकपा एसमा कुनै प्रकारको विवाद नभएको बताउँदै वरिष्ठ एवं सम्मानित नेता खनाल आफूहरूसँग नै हिँड्नु भएकाले प्रष्ट भएको बताउनु भयो । नेकपा एसको जनजागरण अभियान पूर्वको मेचीबाट शुरु भएर  सुर्खेतमा पुगी समापन हुने अध्यक्ष नेपालले बताउनु भयो । 

समाजवादी प्रेस सङ्गठन मधेश प्रदेशका अध्यक्ष प्रवीण शाहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल र पार्टीका महासचिव घनश्याम भुसाल पनि सहभागी हुनु भएको थियो । 

ताजा समाचार

Related Articles