चितवन, असोज १८ गते ।
चितवनका सातपालिका मध्ये धानको पकेट क्षेत्र खैरहनी नगरपालिकामा विभिन्न रोग देखिदा किसान चिन्तित भएका छन् । थन्काउने बेलामा धानबालीमा धान बालीमा फड्के, ब्लास्ट रोगले धान सखाप पारेपछि उनीहरू चिन्तित भएका हुन् । धान रोपेर हालसम्म खासै जटिल समस्या नदेखिएपनि पाकेर काट्ने बेलामा यो रोग देख्दा उनीहरू निराश छन् ।
खैरहनी नगरपालिका–२ का किसान प्रेमनाथ मरहट्ठाले धान पाकेर काट्ने बेलामा रोग देखिँदा आफू चिन्तित भएको बताउंँछन । ‘मेरो १५ कट्ठा जमिनमा धानखेती छ । धानमा रोग देखियो । अब नत चामलको गेडा राम्रो देखिन्छ नत उत्पादन नै बढ्छ ।’ उहाँले भन्नुभयो । प्राविधिकलाई देखाएर उपचार गरेपनि उत्पादन भने ह्वात्तै घट्ने उहाँले बताउनु भयो ।
रोगको कारण आधा जसो उत्पादन घट्ने उहाँको अनुमान छ । ‘रोग नलागेको भए कम्तीमा ३० क्विन्टल धान उत्पादन हुने थियो । अब आफ्नो बालीबाट १२ देखि १५ क्विन्टल मात्र उत्पादन हुन पनि मुश्किल छ ।’ मरहट्ठाले भन्नुभयो ।
उनी मात्र होइन धानखेती गर्ने प्रायः सबै किसानको खेतमा यस्तै समस्या बग्रेल्ती देखिएको छ । खैरहनीको वडा नम्बर–१, २, ३, ७, ९, १०, ११, १२ र १३ का किसानले लगाएको धानमा रोगको सङ्क्रमण देखिएको हो । यहाँ फड्के किरा, मिलिबग, सित ब्लाइट, नेक ब्लाष्टजस्ता रोग देखिएको छ ।
धानमा रोग देखिएपछि किसानहरू नगरपालिका पुगेर जानकारी गराउने गरेका छन् । ‘किसान समस्या लिएर पनि आउनुहुन्छ । हामी तुरुन्तै उनीहरूको खेतमा पनि पुग्ने गरेका छौँ’, नगरपालिका कृषि अधिकृत गौरव न्यौपानेले भन्नुभयो ‘धानमा देखिएको रोगका बारे उचित परामर्श समेत दिन्छौँ । तर यसको समाधान तत्काल नहुँदा उत्पादनमा असर पर्ने देखियो ।’
हाल यो ब्याक्टेरियल प्यानिकल ब्लाइट, फड्के किरा, सित ब्लाइट, नेक ब्लाष्टजस्ता रोग देखिएको र अन्य पालिकामा समेत सर्न सक्ने कृषि अधिकृत न्यौपानेले बताउनु भयो । कतिपय किसानले प्राविधिकको परामर्शबिनै अन्धाधुन्ध विषादी प्रयोग गरेको पाइएकोले पनि समस्या भएको उहाँको भनाई छ । अहिले खैरहनीमा सावा मन्सुली र सावित्री धान लगाइएको छ । सावा मन्सुली लगाइएको मध्ये ७० प्रतिशतमा र सावित्रीमा ३०/३५ प्रतिशतमा रोग देखिएको कृषि अधिकृत न्यौपानेले जानकारी दिनुभयो । खैरहनी जिल्ला धानखेतीको पकेट ठाउँ हो । यहाँ दुई बाली धान लगाइन्छ ।
कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरूची त्रिपाठीले पूर्वी चितवनमा मात्र नभई पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको बताईन ।
उनका अनुसार कार्यालयमा दैनिक तीनदेखि चार जना धानमा लागेको समस्या लिएर आउने गरेका छन् । उनले भनिन, “धानमा लागेको समस्या लिएर आउनेको किसानको सङ्ख्या बढ्दो छ । पूर्वी चितवनमा फड्के किराको समस्या मुख्य देखिएको छ ।”
कालिका र खैरहनी नगरपालिकामा लगाइएको धानमा विशेषगरी फड्के किराको समस्या देखिएको उनको भनाइ छ । यो किराले धानको गाँजमा बसेर धानको रस चुसी सुकाउने गर्दछ । जसका कारण पात जल्ने र गाँज परालजस्तो देखिने त्रिपाठीले बताइन् ।
चितवनको खैरहनीबाहेक राप्ती, रत्ननगर, कालिका नगरपालिकामा पनि धानमा रोग देखिएको छ । चितवनमा यसवर्ष २३ हजार ३४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको ज्ञान केन्द्रले जनाएको छ ।