काठमाडौँ, असोज २१ गते ।
नेपाल राष्ट्र बैंकले दसैँ, तिहार लगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।
राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्कअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैङ्कहरूले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैङ्कबाट त्यस्ता नोट लिनुपर्नेछ ।
काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।