आर्थिक अवस्था अनुकूल विद्यालय शिक्षा व्यवस्था गरिने

लोकप्रिय

काठमाडौँ, असोज २१ गते ।

 प्रतिनिधि सभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले संवैधानिक व्यवस्था र देशको आर्थिक अवस्था अनुकूल हुने गरी विद्यालय शिक्षाको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

शिक्षामन्त्री राईले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरूसँग भएका सहमति तथा अन्य सरोकारवालहरूबाट प्राप्त भएका विचार, सुझाव तथा मागहरू समेत संसदीय प्रक्रियाबाटै समेट्ने पनि बताउनुभयो ।

यस्तै प्रतिनिधि सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले जलाशययुक्त आयोजनाहरूको निर्माणमा जोड दिनुपर्ने, जलविद्युत क्षेत्रमा विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीकर्ताहरूलाई असर नपर्ने व्यवस्था मिलाउनुपर्ने, जग्गा प्राप्ति, मुआब्जा वितरण जस्ता विषयलाई सरल बनाउनुपर्ने लगायतका धारणा राख्नुभयो ।

यस अघि प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको आक्रमणमा त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराउनुभएको थियो ।

बैठकको सुरुमा समय लिएर बोल्नुहुँदै परराष्ट्रमन्त्री साउदले दक्षिण इजरायलको गाजा क्षेत्र नजिक भएको आक्रमण स्थलमा रहेका १७ नेपाली विद्यार्थीमध्ये २ जना सकुशल रहेको र ३ जना घाइते भएकोमा घाइते विद्यार्थीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्री साउदले बाँकी १२ जना नेपाली विद्यार्थीहरू भने सम्पर्कमा नरहेकोले ती विद्यार्थीहरूको अवस्थाको जानकारी लिन आवश्यक सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी गराउनुभयो ।

नेपाल सरकारले इजरायलमा भएको दुखद घटनालाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्रीको अध्यक्षतामा आजै बसेको बैठकले सबै सरोकारवाला निकायहरू सम्मिलित समन्वय संयन्त्र स्थापना गरेको पनि मन्त्री साउदले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकको विशेष समयमा बोल्दै सांसद श्यामकुमार घिमिरे मुलुकको आर्थिक स्थिति खस्कँदै गएको र थपिँदै गएको ऋणको भार मुलुकले थाम्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

सांसद पदम गिरीले रोजगारी र अध्ययनका लागि इजरायलमा रहेको नेपालीको सुरक्षा र उद्धारमा सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसद हित बहादुर तामाङले इजरायल आक्रमणबाट प्रभावित नेपालीको सुरक्षा, उद्धार गर्न र नेपाल फर्कन चाहनेहरूलाई जतिसक्दो चाँडो सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद स्वर्णिम वाग्लेले डेङ्गु नियन्त्रण, अर्थतन्त्रको अवस्था र प्रयोगविहीन सकारी सवारी साधनको लिलामी सम्पन्न गर्नेमा शङ्का उत्पन्न भएको बताउनुभयो ।

सांसद धवलशमशेर जबरा, सांसद प्रदीप यादव लगायतले इजरायलमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसअघि, शुन्य समयमा बोल्दै सांसदहरुले वीर अस्पतालको कर्मचारी व्यवस्थापन, दशैँका मुखमा महँगी, कालोबजारी र अखाद्य वस्तु नियन्त्रण, दुर्गममा खाद्यान्न अभाव, कर्मचारीसँग विचौलियाको मिलेमतो रहेको, भूकम्प पीडितलाई राहत, इजरायल आक्रमणमा परेका नेपालीको सुरक्षा र उद्धार गर्न, स्थानीय सरकारमा भएको भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते सोमबार दिउँसो ३ः३० बजे बस्ने छ । 

ताजा समाचार

Related Articles