इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

लोकप्रिय

जेरूसेलम, असोज २१ गते । 

इजरायली प्रधानमन्त्री बेन्जामनि नेतन्याहुले प्यालेस्टिनी लडाकु समूह हमासले एक्कासि इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ ।

दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको बताएको थियो । हमासले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पनि इजरायली सेनाले बताएको छ ।

यसैबिच, गाजाका अधिकारीहरूले तटीय इलाकामा इजरायलले गरेको प्रत्याक्रमणका कारण कम्तीमा २५६ प्यालेष्टिनीको मृत्यु भएको र करिब एक हजार ७८८ जना घाइते भएको बताएका छन् ।

लेबनानको शक्तिशाली इरान समर्थित ‘हिजबुल्लाह मुभमेन्ट’ले हमासले इजरायलविरुद्ध गरेको कारबाहीप्रति ‘ऐक्यबद्धता जनाउन’ विवादित सीमा क्षेत्रमा इजरायली चौकीमा ‘ठुलो सङ्ख्यामा तोपका गोला र निर्देशित क्षेप्यास्त्र’ प्रहार गरेको जनाएको छ ।

इजरायली सेनाले यसअघि दक्षिणी लेबनानमा आक्रमणकारीको पहिचान नै नगरी गोली चलाएको बताएको थियो ।

नेतन्याहूले उक्स (ट्विटर) मा लेख्नुभएको छ, “हामी लामो र कठिन युद्धमा लागेका छौँ । हमासको अन्धाधुन्ध आक्रमणका कारण हामीमाथि युद्धको भार थोपरिएको छ ।”

“पहिलो चरण यस समयमा हाम्रो भूमिमा घुसपैठ गर्ने अधिकांश शत्रु सेनाको विनाशद्वारा समाप्त हुँदैछ,” उहाँले लेख्नुभएको छ । रातभर इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो भने प्यालेस्टाइनी भूमिबाट इजरायली क्षेत्रमा रकेट प्रहार भएको थियो ।

गाजाको सीमापारिको स्डेरोट प्रहरी चौकीलगायत विभिन्न स्थानमा इजरायली सेना र हमासका सयौँ लडाकुबिच आइतबार बिहान पनि गोली हानाहान भइरहेको छ ।

प्रहरी र इजरायली सेनाको विशेष फौजले स्टेशनभित्र लुकेर बसेका १० जना सशस्त्र आतङ्ककारीलाई निष्प्रभावी पारेको प्रहरीले जनाएको छ ।

सन् १९७३ को अरब–इजरायल युद्ध सुरु भएको आधा शताब्दीपछि हमासले शनिबार गरेको रक्तपातपूर्ण हवाई, समुद्र र स्थलआक्रमणले इजरायल र विश्वलाई चकित एवं दुःखी तुल्याएको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक आइतबारका लागि बोलाइरहँदा राष्ट्रपति जो बाइडेनले अमेरिकी सहयोगी (इजरायल) लाई ‘चट्टानी र अटुट’ समर्थन व्यक्त गर्दै ‘यस परिस्थितिमा फाइदा लिन इजरायलविरोधी अन्य कुनै पनि पक्षविरुद्ध’ चेतावनी दिनुभएको छ । 

इजरायली सेनाले रातभर आफ्नो सेना अझै पनि इजरायलका विभिन्न स्थानहरूमा गोली हानाहानमा संलग्न रहेको बताएको छ, ‘फलामको तरवारहरू’ नाम दिइएको एक प्रतिरोधात्मक आक्रमणमा सेनाको सञ्चित बललाई बोलाइएको थियो ।

हमासले यसअघि केही इजरायलीलाई बन्धक बनाइएको तस्बिर सार्वजनिक गरेको थियो भने सेनाका अर्का प्रवक्ता डेनियल हागारीले सैनिक र सर्वसाधारणको अपहरण भएको पुष्टि गर्नुभएको थियो ।

गाजाको पूर्वमा पर्ने बेरी र ओफाकिमका नेगेभ मरुभूमिसमुदायमा पनि ‘गम्भीर बन्धकको अवस्था’ रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म अहिले नै उनीहरूका बारेमा तथ्याङ्क दिन सक्दिनँ ।”

यनेट इजरायली समाचार वेबसाइटका अनुसार ‘धेरै महिला, बालबालिका र वृद्धहरूसहित दर्जनौँ इजरायली बन्दीहरूलाई गाजा पट्टीमा लगिएको विश्वास गरिएको छ’।

नेतन्याहूका अनुसार युद्धका कारण इजरायलले गाजाको बिजुली, इन्धन र सामानको आपूर्ति बन्द गरेको छ ।

इस्लामिक समूहले स्थानीय समयअनुसार शनिबार बिहान ६ः३० बजे तेल अभिभ र जेरुसेलमसम्म हजारौँ रकेट प्रहार गर्दै फलामको गुम्बज प्रतिरक्षा प्रणालीलाई छिचोल्दै इजरायली भवनहरूमा आक्रमण गरेको थियो । रासस/एएफपी

ताजा समाचार

Related Articles