लेक लागेर तीन पर्यटकको मृत्यु

लोकप्रिय

लेखनाथ, असोज २४ गते । 

पछिल्लो एक सातामै मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु भएको छ । अनुकूल मौसम सुरु भएपछि मुस्ताङमा अहिले आन्तरिक र बाह्य दुवै खालका पर्यटकको भीड लागेको छ । 

मङ्गलबार भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि आएकी एक भारतीय पर्यटकको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक दिनेश गौतमले ६४ की रेवती नाम गरेकी भारतीय महिलाको हाइ अल्टिच्युड भएपछि उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । 

भारतबाट आएको एक सय तीन सदस्यीय तीर्थालुको टोलीमा रेवती सामेल हुनुहुन्थ्यो ।  टोली  पोखराबाट सडकमार्ग हुँदै जोमसोम आएको थियो । घासा आइपुग्दा स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई लेते प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । रेवतीको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

यसैगरी, गएको १९ गते एक युक्रेनी नागरिकको लेक लागेर मुस्ताङमा निधन भयो । १० जनाको समूहमा असोज १९ गते मुस्ताङ भ्रमणका लागि आउनुभएकी युक्रेनी पर्यटक अन्ना पानिनाको मृत्यु भएको हो । वर्ष ३५ की पानिनाको कागबेनी बाँस बसेर पैदलयात्रा गरी झोङ हुँदै मुक्तिनाथ जाँदै हुनुहुन्थ्यो । मुक्तिनाथ जाने बाटोमै उहाँलाई हाइअल्टिच्युडको समस्या देखिई बेहोस भएपछि उपचारका लागि जोमसोम लगिएको थियो । 

उहाँको जिल्ला अस्पताल जोमसोममै निधन भएको हो । पानिनाको शव पोष्टमार्टममा लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । 

यसैगरी, असोज २१ गते मुक्तिनाथ दर्शनका लागि आएका एक भारतीयको निधन भयो । भारतको तिलङगना घर भएका ६६ वर्षीय सत्यनारायणलाई अचानक स्वावप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि जोमसोम लगिएको थियो । उहाँको अवस्था थप जटिल भएपछि उपचारका पोखरा ल्याइएको र उपचारका क्रममा निधन भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । 

मुस्ताङ समुद्री सतहखेखि दुई हजार सात सय मिटरमाथि छ । कम उचाइबाट एक्कासि मुस्ताङ आउनेमध्ये केहीलाई लेक लाग्ने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै नेपाली सेनाले हालै मुक्तिनाथ मन्दिर परिसरमा उपचार केन्द्र स्थापना गरेको छ । 

ताजा समाचार

Related Articles