पाख्रिन र शाहीलाई नेजा पत्रकारिता पुरस्कार

लोकप्रिय

काठमाडौँ, असोज २५ गते ।
नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ प्रदान गरिएको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष संयुक्त रुपमा दुईजना पत्रकार महिलालाई प्रदान गरिएको हो ।
दिलमाया शाही (सन्धान अनलाइन, जुम्ला, कर्णाली प्रदेश) र कमला तामाङ ‘पाख्रिन’ (कान्तिपुर टेलिभिजन, सिन्धुपाल्चोक, बागमती प्रदेश) नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
पुरस्कृत पत्रकारलाई बधाई दिँदै प्रमुख अतिथि एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो ।
उहाँले अन्य क्षेत्रमा जस्तै पत्रकारितामा पनि सुधारको आवश्यक्ता रहेको भन्दै आत्मालोचना सहित रुपान्तरण हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चार सम्बन्धी कानुन निर्माणलाई प्रथामिकताका साथ अघि बढाउने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजासँगको निरन्तर सहकार्यका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न आमसञ्चार प्रतिष्ठानको आवश्यक्ता रहेको बताउँदै सञ्चार सम्बन्धी कानुनलाई पूर्णता दिनुपर्ने बताउनुभयो । कानुन निर्माण प्रकृयालाई सरल बनाई पत्रकारिताका सबै क्षेत्रलाई समेट्ने गरी कानुन निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले पत्रकारले पत्रकारिताको सामान्य मूल्यमान्यतालाई आत्मसात् गरी सत्यतथ्य समाचार सम्प्रेषण गरे मात्रै पनि पत्रकारितामा सुधार हुने बताउनुभयो ।
कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी र महासचिव बाबुराम दाहालले पुरस्कृत पत्रकारलाई बधाई दिँदै नेजाले नेपालको पत्रकारितामा गर्दै आएको साथ र सहयोग आगामी दिनमा पनि जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महासंघका महासचिव रोसन पुरीले नेजाले पत्रकारिता पुरस्कार मात्रै हैन पत्रकारहरु बिरामी पर्दा र प्राकृतिक विपत्तिमा पनि नेपाली पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले श्रमजीवी पत्रकार ऐनसहितका सञ्चार सम्बन्धी कानुनको पूर्ण कार्यान्वयन नहुँदा पत्रकारहरु पारिश्रमिकबाट वञ्चित हुनुपरेको बताउनुभयो । पत्रकारहरुलाई सञ्चारमाध्यमले आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पुरस्कार छनोट समितिका संयोजक गोविन्द आचार्यले २ सय २३ आवेदक मध्येबाट उत्कृष्ट दुईजनालाई छनोट गरिएको बताउनुभयो ।
कार्यक्रममा महासंघका सल्लाहकार निर्मला शर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाललगायतले धारणा राख्नुभएको थियो ।

ताजा समाचार

Related Articles