गणतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ 

लोकप्रिय

कैलाली, असोज २६ गते । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ ।

समाजवादी जागरण अभियानअन्तर्गत आज कैलालीको लम्कीमा आयोजित सभामा अध्यक्ष नेपालले संविधान र गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

उहाँले देशमा अब राजतन्त्र फर्कन नसक्ने बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “देशमा केही शक्तिहरू पुनः राजतन्त्रको पक्षमा देखिएका छन्, त्यस्ता प्रयत्नलाई हामीले असफल पार्नुपर्छ ।” संसारको कुनै पनि व्यवस्था आफैँमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उहाँको भनाइ छ ।

धरान, सर्लाही, नेपालगञ्ज लगायतका ठाउँमा भइरहेका साम्प्रदायिक घटनाले देशको सामाजिक सद्भावलाई भड्काउने कोसिस भइरहेको बताउँदै त्यसतर्फ प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जागरण अभियानबाट पार्टीलाई गतिशील बनाउने काम भइरहेको बताउँदै अध्यक्ष नेपालले २०८४ को चुनावमा पार्टी एक्लै चुनाव लड्ने समेत बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुसालले केही राजनीतिक दलका नेताहरूको अकर्मण्यताका कारण देशको अवस्था दिनप्रतिदिन भयावह हुँदै गएको बताउनुभयो ।

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगनाथ खतिवडाले पूर्व मेचीदेखि आज सुदूरपश्चिमको महेन्द्रनगरसम्म पुग्दा अभियान उत्साहपूर्वक रूपमा भएको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय सदस्य शेरबहादुर कुँवरले देशलाई समाजवादतर्फ उन्मुख बनाउनु आजको आवश्यकता भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles