– प्रमोद आयाम
बर्खालाई बिदा गर्दै मनसुन टाढिएको छ । आकाश छ्याङ्ङ उघ्रिएको छ । शरद् ऋतुले छपक्कै छोपेको छ । गर्मी उत्तरार्धतिर छ । सिरसिर चलेको मन्द चिसो हावाले शीतकाललाई स्वागत गरिरहेको छ । महान् चाड दसैँ दैलोमै आइपुगेको छ । मनलाई मोहित पार्ने शारदीय मौसम र दसैँको यो सम्मिलनका बिच विशिष्ट नाता जोडिएको एउटा सांस्कृतिक पहिचान हो– चङ्गा ।
नेपाली शब्दकोष पल्टाउने हो भने ‘चङ्गा’ को अर्थ ‘धागो छोडेर हावामा उडाइने कागज वा प्लास्टिकको खेलौना’ मा मात्रै सीमित छैन । चङ्गाले तन्दुरुस्त, फुर्तिलो र स्वच्छतालाई प्रतिविम्बित गर्दछ । चङ्गा उडाउँदा मनमस्तिष्क पनि चङ्गासरी उडेको आभास मिल्छ । चङ्गा आकाशमा नाचिरहँदा आफू पनि सँगै उडिरहेको महसुस हुन्छ, चङ्गाबाजहरूलाई । अझ चङ्गा जतिजति अकासिँदै जान्छ, त्यसबाट मिल्ने सन्तुष्टिको उचाइ पनि बढ्दै जान्छ । शरद् ऋतु लागेपछि हावा पश्चिमबाट पूर्वतिर बहन्छ । खास गरी काठमाडौँको सन्दर्भमा यस्तो बहाव चङ्गा उडाउनका निम्ति सर्वाधिक उत्तम मानिन्छ । त्यसमा पनि शरद् ऋतुको हावा जमिन छोएर बहन्छ । हावाको त्यस्तो बहावले चङ्गालाई सजिलैसँग माथितिर लैजान्छ । त्यसैले त चङ्गाका पारखीले यो मौसमलाई चङ्गा उडाउनका निम्ति अपूर्व अवसरका रूपमा छोपिहाल्छन् ।
धुलिखेल, काभ्रेका पुराना चङ्गाबाज रमेश श्रेष्ठ (७२) तिनै मध्येका एक हुनुहुन्छ । उहाँ विगतमा झैँ यस वर्ष पनि चङ्गा उडाएर दसैँलाई स्वागत गर्ने तरखरमा हुनुहुन्छ । श्रेष्ठसहित चङ्गा उडानका पारखीहरूको एउटा समूह छ, ‘फ्लाइङ यतिज्’ । यसै समूहमा आबद्ध साथीहरूसँग मिलेर चङ्गा उडाउने उहाँको योजना छ । चङ्गाबिनाको दसैँ निरस हुने श्रेष्ठको अनुभव छ । “मेरा निम्ति चङ्गा जीवनको एउटा आदत बनिसक्यो । यसलाई कसरी छाड्न सक्नु ?” उहाँको भनाइ छ । श्रेष्ठसँग आधा दर्जन मुलुकका ५० भन्दा बढी चङ्गा महोत्सवमा सहभागिता जनाएको अनुभव छ ।
विजय चापागाईं (२९) पनि दसैँ बिदामा साथीहरूसँग काठमाडौँको मुड्खुभन्ज्याङ पुगेर चङ्गा उडाउने तयारीमा हुनुहुन्छ । स्कुले उमेरदेखि नै चङ्गासँग रमाउँदै आउनुभएका चापागाईं चङ्गालाई दसैँसँग अलग गर्नै नसकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दसैँको एउटा पहिचान भनेकै चङ्गा हो । यसलाई अलग गरेर कसरी दसैँ मनाउनु र ?” श्रेष्ठ र चापागाईं ‘चङ्गा पारखी’का केही प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ, उहाँहरू जस्ता धेरैका निम्ति दसैँसँग चङ्गाको बेग्लै नाता गाँसिएको छ ।
चङ्गाको सांस्कृतिक पक्ष
नेपालमा मल्लकालीन समयमा चङ्गा भित्रिएको अनुमान छ । उत्तरी छिमेकी तिब्बतसँग त्यतिबेला नेपालको व्यापारिक सम्बन्ध थियो । तिब्बत पुग्ने व्यापारीले चङ्गालाई नेपाल भित्र्याएको आकलन हुँदै आएको छ । चङ्गा आफैँमा मनोरञ्जनको साधन त हो नै, चङ्गासँग नेपाली समाजको विशिष्ट सांस्कृतिक पहिचानसमेत जोडिएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा मनाएपछि काठमाडौँवासी दसैँको माहोलमा झुम्मिन थाल्छन् । इन्द्रजात्रादेखि नै काठमाडौँमा चङ्गा किनबेचको चहलपहल बढ्न थाल्छ । यस अर्थमा चङ्गा दसैँको पूर्वसङ्केत पनि हो । आकाशमा चङ्गा उड्न थालेपछि दसैँ नजिकिएको सुखद अनुभूति मिल्छ । खेतबारीमा बालीनाली लगाइसकेपछि वर्षात्को आवश्यकता कम हुँदै जान्छ । अनि दसैँ नजिकिँदै जाँदा ‘अब पानी नपारिदिनु’ भन्ने सन्देश स्वर्गका राजा इन्द्रसम्म पुर्याउन चङ्गा उडाइएको लोकश्रुति रहँदै आएको छ । वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको स्मरणमा खेतबारीमा पानीको आवश्यकता पूरा नहुँदै चङ्गा उडाउन समाजले बर्जित गरेको थियो । उहाँ भन्नुहुन्छ, “पानीको खाँचो नटर्दै चङ्गा उडाउँदा बाआमा र छिमेकीको गाली खाने मात्र होइन । उस्तैपरे पुलिसले समाएर सजायसमेत दिन्थ्यो ।” यस कोणबाट हेर्दा नेपालको चङ्गा संस्कृतिले हाम्रो कृषिकर्मसँग पनि गहिरो सामीप्य राख्छ ।
यस्तै, चङ्गाले परिवारमा सुख, समृद्धि र सम्पन्नता ल्याउने विश्वास पनि गरिन्छ । आकाशमा उडाइएको चङ्गाले दिवङ्गत आत्मासँग सम्पर्क स्थापित गर्ने र चङ्गाले मृत आत्मालाई स्वर्गको बाटो देखाउँछ भन्ने विश्वास नेपाली समाजमा कायम छ । कतिपयको बुझाइमा आफ्ना चेलीबेटीलाई चाडपर्वमा निम्तो दिने प्रतीकात्मक माध्यम पनि हो–चङ्गा । दसैँको बजार प्रवर्धनका निम्ति साना पसलदेखि ठुलाठुला सपिङ मलहरूमा चङ्गा र यसका आकृति समेटिएका प्रचारात्मक सामग्री राखिने गरेका छन् । शुभकामना कार्ड र सन्देशमा पनि चङ्गालाई दसैँको प्रतीकको रूपमा प्रयोग गर्ने गरिएको छ ।
नेपालमा ‘चङ्गा संस्कृति’ले प्रवेश पाएको प्रारम्भिक वर्षहरूमा चङ्गाको स्वरूप अहिले जस्तो छरितो र चारकुने नभई तिनको आकार देवी देवताको आकृति र धार्मिक सन्दर्भसँग गाँसिएको हुन्थ्यो । विभिन्न मुलुकका चङ्गा महोत्सवमा सहभागिता जनाएका चङ्गाका अध्येता प्राध्यापक निर्मलमान तुलाधरका अनुसार आजभन्दा तीन सय वर्ष पहिले स्वयम्भूनाथको डाँडाबाट पञ्चबुद्धको आकृतिका चङ्गा उडाइने गरेको प्रसङ्ग स्वयम्भू चैत्यको पुस्तकमा उल्लेख छ । बौद्ध दर्शनको प्रवर्धन गर्ने उद्देश्यले विगतमा भगवान् बुद्धको आकृतिका चङ्गा उडाइएको तुलाधरको भनाइ छ ।
भारतमा चाहिँ मकर सङ्क्रान्ति अर्थात् सूर्य उत्तरायण हुने दिनमा चङ्गा उडाउने गरिन्छ । मकर सङ्क्रान्तिको दिन देवलोकको ढोका खुल्ने हिन्दुस्तानी धार्मिक विश्वासका साथ यस दिन भगवान्प्रति आफ्नो आस्था दर्शाउन भारतमा चङ्गा उडाउने गरिन्छ । हरेक वर्ष जनवरी ८ देखि १४ सम्म गुजरातको अहमदाबादमा अन्तर्राष्ट्रिय चङ्गा महोत्सव आयोजना हुँदै आएको छ ।
आआफ्नै विशेषता
विश्वका विभिन्न मुलुकमा चङ्गाको आकार र उडाउने शैली भिन्नभिन्न पाइन्छन् । प्राध्यापक तुलाधरका अनुसार विदेशतिर चङ्गाको आकार, कलात्मक डिजाइन, चङ्गा उडानमा बजाइने सङ्गीत, मनोरञ्जनको स्तर र चङ्गा उडाउँदा त्यसले लिने उचाइका आधारमा सहभागीबिच प्रतिस्पर्धा गराइन्छ । त्यसै अनुरूप विजेताको मूल्याङ्कन गरिन्छ ।
अन्य मुलुकको तुलनामा नेपालको ‘चङ्गा संस्कृति’ केही पृथक् देखिन्छ । चङ्गालाई एकअर्कासँग जुधाइ धागो चुँडालेर गरिने ‘चङ्गा चेट’ प्रतिस्पर्धा नै नेपालको चङ्गा संस्कृतिको रोमाञ्चक पक्ष हो । वनस्पतिविज्ञ श्रेष्ठको भनाइमा यो अभ्यास नेपालमा धेरै पहिल्यैदेखि स्थापित छ । त्यसरी अरूको ‘चङ्गा चेट’ बनाएर आफूलाई शक्तिशाली साबित गर्ने चङ्गालाई ‘मन्डली’को उपाधि दिइन्थ्यो । अनुभवी चङ्गाबाजका अनुसार प्रतिस्पर्धामा अरूको ‘चङ्गा चेट’ गराउने रोमाञ्चक शैलीले नै नेपाली चङ्गा संस्कृतिलाई पृथक् पहिचान दिलाएको छ । यसरी एक अर्काको ‘चङ्गा चेट’ गर्ने ध्येयका साथ प्रतिस्पर्धामा उतारिने चङ्गालाई ‘फाइटर काइट’ अर्थात् ‘लडाकु चङ्गा’को नामले चिनिन्छ । त्यसो त नेपालको चङ्गा संस्कृतिका मौलिक पक्ष अरू पनि छन् । दुवै हातले लट्टाई समातेर चङ्गा उडाउने शैलीलाई नेपालको मौलिक अभ्यासको रूपमा लिइन्छ । चङ्गाबाज रमेश श्रेष्ठका अनुसार विदेशतिर एक जनाले लट्टाई समात्छन् भने अर्कोले धागो छोडेर चङ्गा उडाउने प्रचलन छ ।
‘लडाकु चङ्गा’का निम्ति चङ्गामा प्रयोग गरिने धागो धारिलो हुनु पर्छ । पहिले पहिले धागोको तयारी गर्दादेखि नै चङ्गाको चहलपहल सुरु हुन्थ्यो । साबुदाना र सिसाको धुलो, काँचो अण्डा, भातको पातलो माड, घिउकुमारीको मिश्रणबाट एक किसिमको मसला बनाइन्थ्यो, जसलाई ‘माझा’ भनिन्छ । त्यही माझा लगाएर सुतीको धागोलाई चिल्लो र धारिलो पारिन्थ्यो । त्यसो गर्दा अर्काको चङ्गालाई सजिलै काट्न सकियोस् भन्ने ध्येय चङ्गाबाजहरूमा हुन्थ्यो । हिजोआज चाहिँ धागोमा त्यसरी अलग्गै माझा लगाउनै पर्दैन । माझाका विशेषता भएका रेडिमेड धागो बजारमा सहजै किन्न पाइन्छन् ।
काठमाडौँमा पहिल्यैदेखि नै भारतीय चङ्गाको वर्चस्व थियो । आजसम्म त्यो कायमै छ । काठमाडौँमा पाइने चङ्गाको ठुलो हिस्सा भारतको लखनउबाट भित्रिने गरेको छ । तीमध्ये प्लास्टिक र कागजबाट बनेका चङ्गाको थोक मूल्य चारदेखि ८० रुपियाँसम्म पर्छ भने कपडाको चङ्गाको मूल्य १५० देखि ३०० रुपियाँसम्म पर्ने गरेको छ । प्लास्टिकका चङ्गा चीनबाट पनि आउँछन् । पहिलेपहिले नेपाली कागजको प्रयोग गरेर नेपालमा पनि चङ्गा बनाउने गरिन्थ्यो तर यसको लागत महँगो परेका कारण अहिले त्यस्तो चङ्गा हराउँदै जान थालेका छन् । यस्तै, लट्टाईसहितको धागोको मूल्य भने ५०० देखि ४,५०० रुपियाँसम्म रहेको देखिन्छ । काठमाडौँबाट पोखरा, दोलखा, चितवन, हेटौँडा र धरानलगायतका सहरमा चङ्गा पुग्ने गरेको बिक्रेताहरूको भनाइ छ ।
घट्दै छ चङ्गाको रौनक
सांस्कृतिक दृष्टिले नेपाली परिवेशमा चङ्गाको पृथक् पहिचान स्थापित हुँदाहुँदै पनि चङ्गा उडाउने प्रचलन घट्दै गएको महसुस गर्न थालिएको छ । प्राध्यापक तुलाधरको स्मरणमा तीन दशकअघिसम्म काठमाडौँको आकाशमा रङ्गीचङ्गी चराका बथान सरह चङ्गा उडेका देखिन्थे । यो क्रम तिहारसम्मै चल्थ्यो तर अहिले आकाशमा चङ्गा धेरै नै पातलिँदै गएको उहाँको अनुभव छ । तुलाधर भन्नुहुन्छ, “अहिले त आकाशमा यति कम चङ्गा देखिन्छन् कि तिनलाई सहजै गन्न सकिन्छ ।” उहाँका अनुसार पहिलेपहिले दसैँ आउन महिना दिनअघि नै धागोमा माझा लगाउने तयारी सुरु हुन्थ्यो । धागोको तयारी नै उत्साहजनक हुन्थ्यो । ती क्षणहरू सम्झँदा पौराणिक कथा जस्तै लाग्छ, उहाँलाई ।
चङ्गाका बिक्रेताहरूको अनुभवले पनि नयाँ पुस्तामा चङ्गाप्रतिको लगाव घट्दै गएको सङ्केत गर्दछ । चङ्गाको मुख्य सिजन मानिने दसैँमा नै किनबेच घटेको बिक्रेताहरू बताउँछन् । काठमाडौँको असनस्थित अभि स्टोर एन्ड काइट सेन्टरका सञ्चालक अनिल श्रेष्ठका अनुसार चङ्गाको किनबेच विगतको जस्तो उत्साहजनक छैन । एक दशक अघिसम्म पनि दसैँमा ५० बाकस चङ्गा बेचेको श्रेष्ठलाई सम्झना छ तर गत वर्ष चङ्गा बिक्री केवल १२ बाकसमा सीमित रहेको उहाँ बताउनुहुन्छ । श्रेष्ठको भनाइमा यस वर्ष पनि चङ्गा बिक्री उत्साहजनक हुने छैन ।
असनकै चित्रकार स्टोरका बिक्रेता दिनोज चित्रकारका अनुसार पछिल्ला केही वर्षयता युवापुस्तामा चङ्गाप्रतिको आकर्षण घट्दै गएको छ । चित्रकार भन्नुहुन्छ, “यो त्यही पसल हो, जहाँ कुनै बेला चङ्गा बेच्न छ जनालाई पनि भ्याइनभ्याइ हुन्थ्यो । अहिले मुस्किलले एक जनालाई पुग्ने व्यापार छ ।”
चङ्गाबाजहरूका भनाइमा विसं २०५० को दशकसम्म काठमाडौँका घरहरूको उचाइ एकनासको हुन्थ्यो । यसो हुँदा चङ्गा उडाउन सहज हुन्थ्यो । अहिले काठमाडौँ सहरीकरणले पूरै बदलिएको छ । अग्लाअग्ला भवन ठडिएका छन्, जुन चङ्गा उडाउनका निम्ति अनुकूल छैनन् । यसो हुँदा चङ्गा उडाउन चाहनेले कि त अग्लो भवनका छतसम्म पुग्नु पर्छ वा काठमाडौँका डाँडाकाँडा उक्लनुपर्ने बाध्यता छ ।
सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनले पनि बालबालिका, किशोरकिशोरी र युवापुस्ताको लगाव त्यतैतिर सोझिएको देखिन्छ । उनीहरूमध्ये धेरै जना मोबाइल र ग्याजेटमा रत्तिएका देखिन्छन् । यसले पनि चङ्गाप्रति तिनको मोह कम हुँदै गएको ठानिएको छ । पछिल्ला केही वर्षयता बजारमा मूल्यवृद्धिको दबाब देखिन्छ । महँगीको प्रभाव चङ्गा, धागो र लट्टाईमा पनि परेको छ । अभि स्टोरका सञ्चालक श्रेष्ठका अनुसार डेढ दशकअघिसम्म २५–३० हजार रुपियाँमा झन्डै १० बाकस चङ्गा आउँथ्यो । अहिले त्यति नै चङ्गा किन्न करिब पाँच लाख आवश्यक पर्छ । महँगीले पनि चङ्गा किन्नेहरू घट्दै गएको श्रेष्ठको बुझाइ छ ।
प्रवर्धनको खाँचो
चीन, अमेरिका, फ्रान्स, इन्डोनेसिया, अस्टे«लिया, थाइल्यान्ड, भारतलगायतका मुलुकमा हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका चङ्गा महोत्सव आयोजना गरिन्छन् । ती मुलुकमा ‘काइट कल्चर’को संरक्षणसँगै पर्यटन प्रवर्धनका निम्ति त्यस्ता महोत्सव आयोजना हुने गरेका छन् । त्यस्ता महोत्सवमा सहभागीहरूबिच चङ्गा उडाउने प्रतिस्पर्धा मात्र हुँदैनन्, चङ्गा बनाउन र उडाउने कला पनि सिकाइन्छ । महोत्सवमा चङ्गाका विविध संस्कृतिबारे कार्यशालासमेत आयोजना गरिन्छन् । ८ जनवरी, २०२३ मा भारतको गुजरातको अहमदाबादमा आयोजित ‘इन्टरनेसनल जी–२० चङ्गा महोत्सव’मा ७५ मुलुकका सहभागीले एकैसाथ चङ्गा उडाएका थिए ।
‘काइट कल्चर’को जगेर्नाका निम्ति अन्तर्राष्ट्रिय वृत्तमा ठुलाठुला महोत्सव भइरहँदा नेपालमा भने विगतमा हुने गरेका स्वदेशीस्तरका प्रवर्धनात्मक प्रयास पनि ओझेलमा पर्दै गएका देखिन्छन् । केही वर्ष पहिलेसम्म नगरकोटको क्लब हिमालयमा ‘चङ्गा चेट’ प्रतियोगिता हुन्थ्यो भने नेपाल जापान मैत्री सङ्घले पनि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा चङ्गा महोत्सव आयोजना गर्दै आएको थियो । अहिले त्यस्ता कार्यक्रम हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ, प्राध्यापक तुलाधर । “हाम्रो चङ्गाको संस्कृतिको संरक्षणमा त्यस्ता कार्यक्रमले थोरै भए पनि टेवा दिएको थियो । अब त्यही पनि हुन छोड्नु चिन्ताको विषय हो ।” उहाँको भनाइ छ ।
विदेशतिर सरकारीस्तरबाट यस्ता महोत्सव आयोजना गरिन्छन् । जस्तो कि; अहमदाबादको चङ्गा महोत्सवको नेतृत्व गुजरात पर्यटन विभागले गर्दै आएको छ तर नेपालको चङ्गा संस्कृतिको प्रवर्धनका निम्ति सरकारी स्तरबाट हालसम्म कुनै प्रयास हुन सकेको देखिँदैन । नेपाल आफैँमा पर्यटकीय दृष्टिले प्रशस्त सम्भावना भएको मुलुक हो । ‘फाइटर काइट’को पृथक् अभ्यासलाई महोत्सवमा उतार्ने प्रयास गर्ने हो भने नेपालको खेलकुद पर्यटन प्रवर्धनमा नवीनतम अभ्यासको थालनी हुने देखिन्छ । यसले पर्यटन व्यवसायलाई विविधीकरणसमेत गर्ने छ ।
नेपालमा चङ्गाको विशिष्ट सांस्कृतिक पहिचान स्थापित भएर पनि नयाँ पुस्तालाई यसको महत्वबारे नै बुझाउनै सकिएको छैन । उनीहरूमा ‘यो हाम्रो संस्कृति हो’ भन्न भावनाको विकास गराउन आवश्यक देखिएको छ । प्राध्यापक तुलाधर भन्नुहुन्छ, “स्कुले उमेरदेखि नै बालबालिकालाई चङ्गाप्रतिको लगाव बढाउन आवश्यक छ । भोलि चङ्गालाई देखाएर ‘बाबा यो के हो ? मामु यसलाई के भन्छन् ?’ भनेर बच्चाले सोध्नपर्ने अवस्था त आउन दिन भएन नि !” बालबालिकालाई चङ्गा उडाउन मात्र होइन, चङगा बनाउने कला पनि सिकाउनुपर्ने उहाँको सुझाव छ ।
कतिपय अभिभावकको अनुभवमा अहिले धेरै बालबालिकाहरू मोबाइल र ग्याजेटले एकोहोरिएका छन् । शरद् ऋतुको यो उल्लासमय परिवेशसँग बालबालिकाहरूलाई साक्षात्कार गराउनका निम्ति चङ्गा एउटा राम्रो विकल्प पनि हो । यसबाट पृथक् पहिचान बोकेको हाम्रो ‘चङ्गा संस्कृति’को संवर्धन मात्रै हुने छैन, संस्कृतिलाई जीवन्त राख्नका निम्तिसमेत टेवा पुग्ने छ ।
चङ्गा स्वभावैले स्वच्छन्दताको प्रतीक पनि हो । यसैले चङ्गाले बालबालिकालाई त्यही स्वच्छन्ततासँग रम्न पनि सिकाउँछ । वनस्पति विज्ञ डा. श्रेष्ठ भन्नुहुन्छ, “बाल्यकाल र किशोरावस्थामा चङ्गा उडाएको क्षणले अहिलेसम्म मेरो मस्तिष्कमा गहिरो प्रभाव पारेको छ । चङ्गाले दिएको निश्चल आनन्द मैले अरू कुनै पनि खेलमा कहिल्यै महसुस गरिनँ ।”
चङ्गाको विश्व इतिहास
चङ्गाको आविष्कार कहाँ र कहिले भयो ? भन्ने विषयमा स्पष्ट अभिलेख भेटिँदैन । तथापि धेरै अध्येताहरूले यसको उत्पत्ति चीनमा भएको मान्दै आएका छन् । आजभन्दा करिब दुई हजार वर्षभन्दा पहिले चीनको ‘हान वंश’को समयमा चङ्गाको आविष्कार भएको अनुमान छ । इसापूर्व २०० तिर चीनमा पहिलो पटक चङ्गा उडाइएको अनुमान छ ।
अमेरिकन काइटफ्लायर्स एसोसिएसनका अनुसार तेह्रौँ शताब्दीतिर चिनियाँ व्यापारीले चङ्गालाई कोरिया, भारत र मध्यपूर्वमा विस्तार गरे । चौधौँ शताब्दीमा आइपुग्दा ‘चङ्गा संस्कृति’ले युरोपमा प्रवेश पायो । भारतमा चाहिँ मुगल साम्राज्यको अवधिमा चङ्गा भित्रिएको देखिन्छ । चङ्गा उत्पत्तिको प्रारम्भिक कालमा यसलाई भगवान्को दूत र जासुसी प्रयोगको साधनको रूपमा लिइन्थ्यो । विभिन्न सन्दर्भ सामग्री अनुसार पहिलो र दोस्रो विश्वयुद्धमा युद्धस्थल र शत्रु पक्षको सूचना लिनका निम्ति चङ्गाको प्रयोग गरिन्थ्यो ।
भौतिकशास्त्री र मौसमविद्ले चङ्गालाई वैज्ञानिक प्रयोजनले समेत प्रयोग गरेका थिए । सन् १७४९ मा मौसमी परीक्षणका निम्ति चङ्गालाई प्रयोग गरिएको थियो । उन्नाइसौँ शताब्दीमा पनि मौसमका विविध जानकारी लिन चङ्गाको सहारा लिने गरिन्थ्यो । त्यसका निम्ति चङ्गामा क्यामरा, थर्मोमिटर जस्ता उपकरण झुन्ड्याएर पठाइन्थ्यो ।
सन् १७५२ मा अमेरिकाका बेन्जामिन फ्रयाङ्कलिनले विद्युतीय शक्तिको परीक्षणमा चङ्गाकै प्रयोग गरे भने राइट ब्रदर्सले सन् १९०३ मा हवाईजहाज उडानको परीक्षणमा चङ्गाकै सहारा लिएका थिए । बिसौँ शताब्दीमा आइपुग्दा केटाकेटीदेखि वयष्क उमेर समूहको निम्ति चङ्गा मनोरञ्जन र खेलकुदको लोकप्रिय साधनको रूपमा स्थापित भइसकेको थियो ।
चिनियाँहरू आफ्नो मुलुकको सान्दोङ प्रान्तमा रहेको वेइफाङ सहरलाई चङ्गाको ‘जन्मथलो’ मान्छन् । यसैले पनि यो सहरलाई ‘क्यापिटल सिटी अफ काइट्स’को रूपमा परिचित छ, जहाँ हरेक वर्ष साताव्यापी अन्तर्राष्ट्रिय चङ्गा महोत्सव आयोजना हुँदै आएको छ । बेइफाङमा चङ्गाको सङ्ग्रहालसमेत स्थापित छ ।
गोरखापत्रबाट ।