गुमेको दृष्टि फर्कियो ज्येष्ठ नागरिकको

लोकप्रिय

हेटौँडा, असोज २७ गते ।

 उत्तरी मकवानपुरमा सञ्चालित आँखा शिविरबाट ७० वर्ष नाघेका दुई ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्किएको छ । तीन वर्षदेखि गुमेको दृष्टि फर्किएसँगै उहाँहरूका ओठमा मुस्कानसहित खुसीको सीमा छैन । 

आफन्तको साथ लागेर निःशुल्क आँखा शिविरमा आँखाको जाँच गराउन गएका उहाँहरूको आँखामा मोतीबिन्दु भेटिएपछि गाउँमा नै पुगेका चिकित्सकले शल्यक्रिया गरिदिएका थिए । शल्याक्रियापछि आफन्तको साथ लागेर शिविर पुगेका उहाँहरू अहिले आफैँ अरूको सहाराबिना घर फर्कन सक्षम भएको हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

“मकवानपुरको थाहा नगरपालिका–५, फुर्केका महावीर गोलेसँगै इन्द्रसरोवर गाउँपालिका–३ की माइलीमाया मोक्तानले तीन वर्षअघि गुमेको दृष्टि पुनः पाउनुभएको हो । शल्यक्रिया गरेर आँखा देख्ने भएसँगै अहिले दुवै जनाको मुहारमा हाँसो फेरिएको छ,” श्रेष्ठले भन्नुभयो ।

तीन वर्षअघि ७२ वर्षको उमेरमा गुमेको दृष्टि गोलेले तिलगङ्गा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यव्रिmयापछि पुनः पाउनुभएको हो । 

राम्ररी हिँड्न नसक्ने ७५ वर्षीय गोले आफ्ना दुई जना भतिजको साथमा फुर्केमा आयोजित निःशुल्क आँखा शिविरमा आँखा जाँच गर्न आउनुभएको थियो । 

आँखा जाँचका क्रममा मोतीबिन्दु देखिएपछि बिहीबार गाउँमा नै दुवै आँखाको शल्यक्रिया गरिएको थियो । मोतीबिन्दुको शल्यक्रियापछि आँखाको पट्टी शुव्रmबार थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले निकालेसँगै आँखा देख्ने भएपछि गुमेको दृष्टि पुनः फर्किएकोमा गोले खुसी व्यक्त गर्नुभयो ।  

मकवानपुरको उत्तरी क्षेत्रको फुर्के, मोरिया, गोगने, देउखेल, नौखण्डे, टौखेल, वज्रवाराहीलगायतका स्थानमा हेटौँडा सामुदायिक आँखा अस्पतालले निःशुल्क आँखा शिविर गरी पाँच सय बिरामीको आँखा जाँच गरेकोमा ७३ जनामा मोतीबिन्दु भेटिएको थियो । 

थाहा नगरमा भएको शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनील थकालीको नेतृत्वमा गएको टोलीले मोतीबिन्दुको शल्यक्रिया गरेको थियो । 

यस्तै इन्द्रसरोवर गाउँपालिका–३ को विकट बस्तीकी माइलीमाया मोक्तानको गाउँपालिकाको वडा नं. २ स्थित खानीखेतमा भएको शिविरमा मोतीबिन्दुको शल्यव्रिmया गरिएको हो । 

इन्द्रसरोवर गाउँपालिका र हेटौँडा सामुदायिक आँखा अस्पतालको समन्वयमा सञ्चालित ग्रामीण आँखा केन्द्र इन्द्रसरोवरमा आयोजित निःशुल्क आँखा शिविरमा माइलीमायाको दुवै आँखाको शल्यव्रिmया गरिएपछि उहाँ तीन वर्षपछि पूर्ण रूपमा देख्न सक्ने हुनुभएको हो । 

७९ वर्षीया माइलीमाया शिविरमा तीन घण्टा पैदल हिँडेर छोरीसँग आउनुभएको थियो । उहाँको श्रीमान्समेत आँखा नदेख्ने भएकाले उहाँ अहिले छोरीज्वाइँसँगै बस्दै आउनुभएको छ । घरको सामान्य काम र केही भएको जग्गा जमिनमा खेतीपाती गर्दै आउनुभएकी माइलीमाया करिब तीन वर्ष अघिदेखि पूर्ण रूपमा आँखा देख्न नसक्ने भएपछि घरमै बस्दै आउनुभएको परिवारले जनाएको छ । 

शल्यव्रिmयापछि आँखाको दृष्टि फर्किएसँगै माइलीमायाले तामाङ भाषामा हर्षित हुँदै भन्नुभयो, “अपरेसनपछि आँखा देखेँ, यो आँखाले गर्दा वृद्धभत्ता लिन जान पाएको थिएन, आब आफैँ हिँडेर जान्छु ।” 

इन्द्रसरोवरमा हेटौँडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. एलिना गौचनको नेतृत्वमा आँखा शिविरका लागि स्वास्थ्यकर्मीको टोली पुगेको थियो ।

ताजा समाचार

Related Articles