सर्वदलीय सरकार निर्माण अहिलेको आवश्यकता

लोकप्रिय

हेटौँडा, असोज २९ गते ।

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अहिलेको आवश्यकता सर्वदलीय सरकार भएको बताउनुभएको छ ।
कांग्रेस मकवानपुरले सोमबार पार्टी कार्यालय परिसरमा विजया दशमी, दीपावलीलगायतका चाडपर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले अहिलेको देशको समस्या समाधान गर्न सर्वदलीय सरकार आवश्यक भएको बताउनुभयो ।
सङ्घ र प्रदेशहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका गठबन्धनको सरकार रहेको अवस्थामा बागमती प्रदेश सभा सदस्यसमेत रहनुभएका बानियाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
उहाँले देशमा पछिल्लो समय कालोमोसो दल्नेलगायतका अराजकता र अस्थिरता बढ्दै गएको बताउँदै यी समस्या समाधानसँगै स्थिरताका लागि सर्वदलीय सरकार आवश्यक भएको औँल्याउनुभयो ।
नेपालका प्रमुख सबै दलहरुमा गुट उपगुट र विभाजन छ ती विभाजनहरुलाई अन्त्य गरी दलहरुभित्रको आन्तरिक एकता बलियो बनाएर अहिलेको चुनौती सामना गर्नु आवश्यक छ, उहाँले भन्नुभयो, अहिलेको समस्या समाधानका लागि ठूला दलहरु मिल्नुको विकल्प छैन ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सबै धर्म र समुदायकाले सामाजिक सद्भावलाई बलियो बनाउनु आवश्यक भएको बताउँदै पर्वहरुलाई तडक भडक भन्दा सामान्य रुपमा मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री एवं माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान, प्रदेश सभा सदस्य एवं एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायत विभिन्न दलका नेता कार्यकर्ता, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles