राष्ट्रियसभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने

लोकप्रिय

काठमाडौँ, कात्तिक १६ गते ।

 निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिनुभएको हो ।

उहाँले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताउनुभयो । आयोगले माघको १०, ११ वा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो । यसैगरी, रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उहाँको भनाइ छ ।

‘‘आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटी १९ जना पर्नुभएको छ । रिक्त चाहिँ २० वटै हुँदैछ तर निर्वाचन चाहिँ १९ वटा पदको निर्वाचन माघको दोस्रो हप्ता सम्पन्न गर्नेगरी आवश्यक तयारी गरेका छौँ । मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ । सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी यो राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं ।,’’ आयुक्त थपलियाले भन्नुभयो, ‘‘त्यसैगरी प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य १ र स्थानीय तहका २४ विभिन्न पदहरुमा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । त्यसको निम्ति पनि हामी अनौपचारिक रुपमा छलफलमै छौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ । हामी तीन महिनाको समय भयो भने जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गर्नसक्छौँ । आवश्यक तयारी भइरहेको छ ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन गर्ने काम अगाडि बढाउने पनि जानकारी दिनुभयो । त्यस्तै, विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम सङ्कलन गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।

ताजा समाचार

Related Articles