दुई वटा मन्त्रालयको सङ्गठन संरचना स्वीकृत

लोकप्रिय

हेटौँडा, पुस ४ गते ।
बागमती प्रदेश सरकारले प्रदेशका थप दुई वटा मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । बागमती प्रदेशको यहाँ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले दुई वटा मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले हेटौँडामा प्रदेश विश्वविद्यालय स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको बताउँदै दुई मन्त्रालयको दरबन्दीका बारेमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्वीकृति प्राप्त भएसँगै सङ्ख्या यकिन हुने बताउनुभयो ।

प्रदेश उच्च शिक्षा परिषद्को ११ औँ बैठकको निर्णयका आधारमा हेटौँडामा सार्वजनिक विश्वविद्यालय स्थापनाका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताउनुभयो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक रुपमा नै हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने बताउँदै आउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा अन्तर्गतका प्रहरी एकाइ भवनहरु निर्माण गर्न २६ करोड ५५ लाख २९ हजार रुपियाँ भुक्तानी गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । साथै बैठकले १० औँ तहबाट ११ औँ तहमा बढुवा गरिएका प्रदेश सरकारका कर्मचारीहरुको पदस्थापना संशोधन गर्ने निर्णय गरेको मन्त्री लम्सालले बताउनुभयो ।

ताजा समाचार

Related Articles