प्रदेश सभाको भूमिका प्रभावकारी भएनः एमाले नेता थपलिया

लोकप्रिय

हेटौँडा, पुस ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सभाको बितेको एक वर्षको भूमिका प्रभावकारी नभएको बताउनुभएको छ ।
एमाले बागमती संसदीय दलका नेता थपलियाले प्रदेश सभा र सङ्घीय संसद दुवैको गत एक वर्षको भूमिका सुखद् र नागरिकका पक्षमा अपेक्षित रुपमा प्रभावकारी नभएको बताउनुभयो ।
प्रदेश सभा तथा प्रतिनिधि सभा गठन भएको एक वर्षको समीक्षा गर्न बसेको संसदीय दलको बैठकपछि बैठकका निर्णयहरु बारेमा जानकारी दिन संसदीय दलको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन सरकारका कामप्रति असन्तुष्टि जनाउनुभयो ।
उहाँले वर्तमान गठबन्धनको सरकारले सुशासनको प्रतिबद्धताविपरीत मन्त्रालय सङ्ख्या थपेको, मन्त्रीको निर्वाचन क्षेत्रमुखी बजेट आएको, स्वास्थ्य मन्त्रालयमा खरिद प्रक्रियामा भएको अनियमिता सार्वजनिक भएको र मन्त्रीहरु प्रदेश राजधानीमा नबस्ने गरेको बताउँदै विपक्षी दलसँग भएका सहमति कार्यान्वयनमा बेवास्तासहित समय टार्ने काम गरेकोप्रति आपत्ति जनाउनुभयो ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको बेरुजु, आर्थिक अपारदर्शिता हटाई सुशासन कायम गर्नेतर्फ सरकारले सुनुवाई नगरेको र प्रदेश सभा अन्तर्गतका समितिहरुको सभापति चयनमा सरकार मौन बसेको बताउँदै नेता थपलियाले भन्नुभयो, बजेटमा भएको व्यवस्था विपरीत दरबन्दी थप गर्ने, यातायात कार्यालय, र ट्रायल सेन्टर बढाएर आर्थिक भार थप्ने कार्य गरिएको छ ।
उहाँले अगाडि भन्नुभयो, सरकार अकर्मण्य छ, सरकार कहाँ छ, जनता सोधिरहेका छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले सरकारले बजेट वितरणमा विभेदकारी नीति अपनाउँदा समस्या आएको भन्दै प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न माग गर्नुभयो ।

ताजा समाचार

Related Articles